क्यानेडियन नागरिक विद्यालय बनाउन दाङका गाउँगाउँमा

दाङ । केभिन एजकोम्ब डकर्मीसँगै ईँट्टाको गारो लगाउन खटिएका छन् । उनका केही साथी सिमेन्ट र बालुवाको मसला तयार पार्दै छन् । केही भने ईँट्टा उचाल्न लागिपरेका छन् ।

यहि काममा खटिएकी क्लेयर कल्भर क्यानेडियन नागरिक हुन् । क्यानडा देशको विद्यार्थी । अहिले उनी गढवा स्थित जनता माध्यमिक विद्यालयको कक्षा कोठा बनाउन श्रमदानमा खटिएकी छन् । ‘म विद्यार्थी हुँ । म जस्तै यहाँका विद्यार्थीहरुले पढ्ने विद्यालयको कक्षा कोठा बनाउन पाउँदा खुशी छु’ उनले भनिन् ‘बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म यहि विद्यालयमा हुन्छौँ ।’

उनी जस्तै १४ जना क्यानेडियन नागरिक विद्यालयको कक्षा कोठा बनाउन श्रमदानमा खटिएका छन् । विद्यालय भवन बनाउन खटिँदा उनीहरुमा बेग्लै उत्साह छ । यो समूहको नेतृत्व केभिन एजकोम्बले गरेका छन् । उनी हर ईन्टरनेशनल क्यानडाको अध्यक्ष समेत हुन् ।

यस अघि गंगापरस्पुर स्थित माध्यमिक विद्यालय चैनपुरको भवन क्यानडाको यस्तै समूहले बनाएको थियो । भूकम्पपछि तनहुँ, काभ्रे र गोरखामा विद्यालय भवन बनाउन खटिए । अहिले जनता माध्यमिक विद्यालयको माथिल्लो तल्लाको चार कोठा बनाउन उनीहरु श्रमदानमा खटिएका हुन् । क्रियटिङ्ग पोसिविलिटिज नेपाल (सिपी), गढवा गाउँपालिका र विद्यालयको संयुक्त लगानीमा कक्षा कोठा निर्माणको काम अघि बढेको छ । गाउँपालिकाको १५ लाख र सिपीको १५ लाख गरी ३० लाखको लगानीमा कक्षा कोठा बनिरहेको छ ।

जनता माध्यमिक विद्यालयमा १६ सय भन्दा बढि विद्यार्थी छन् । कक्षा कोठाको अभावमा कोचिएर बस्न बाध्य भएका विद्यार्थिहरुको सहजताको लागि विद्यालयका प्रधानाध्यापक रामसुरत यादवको पहलमा गाउँपालिका र सिपी संस्थाको लगानी जुट्न पुग्यो । ‘हर्षित भएका छौँ। कक्षा कोठाको खाँचो थियो । त्यो आवश्यकता पुरा भैरहेको छ’ उनले भने ‘हाम्रो विद्यालयमा निम्न आय स्तर भएका परिवारका विद्यार्थि अध्ययन गर्न आउने धेरै छन् । हामिले अंग्रेजी र नेपाली माध्यममा पठन पाठन गराईराखेका छौँ । आगामी वर्ष विद्यार्थीको संख्या थपिने विश्वासमा छौँ ।’

क्यानेडिन नागरिकहरु नेपालमा आएर विद्यालयको भवन निर्माण गर्न सहयोग गर्ने र आफै श्रमदानमा खटिने वातावरण क्रियटिङ्ग पोसिविलिटिज नेपालले बनाएका हो । यो संस्थाको सहयोगमा विपन्न परिवारका चार सय ७८ जना विद्यार्थिले छात्रावृत्तिमा विभिन्न विद्यालयमा अध्ययन गर्न पाएका छन् ।

‘विपन्न परिवारका विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याएर उनीहरुलाई पढाईको लागि सहयोग गर्ने काम गरेका छौँ’ सिपी संस्थाका प्रबन्धक दिनेशराज साप्कोटाले भने ‘विद्यालयबाट टाढा रहेकाहरुलाई विद्यालयसम्म ल्याउने वातावरण सबै मिलेर गर्न सकिन्छ । त्यमा हाम्रो पनि साथ रहन्छ ।’

Loading...