डोल्पामा जीप दुर्घटना हुँदा १० को मृत्यु

काठमाडौं । तिहारको पहिलो दिनमै दुखद दुर्घटना भएको छ । कर्णाली प्रदेशको डोल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाउनु परेको छ । मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ ।

सदरमुकाम दुनैबाट सुपानीतिर जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको ज्यान गएको हो ।

जाजरकोटबाट पत्रकार दिप बहादुर घर्तीले दिएको जानकारी अनुसार उक्त जिप दुर्घटनामा परी अन्य दुई घाइते भएका छन्। घाइतेहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

डाेल्पाकाे ठुलीभेरी नगरपालिकामा पर्ने कालागाैँडा प्रहरी चाैकीदेखि ६०० मिटर टाढापर्ने ठाँउमा १२ जना सवार उक्त जीप दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेहरुको सदरमुकामस्थित दुनै अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –१, त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, त्यसै ठाउँकी १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, वडा नम्बर ३ बस्ने ४५ वर्षीय बुध धराला, , वडा नम्बर ५ बस्ने १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका –५, बस्ने ३० वर्षीय भद्र रोकाय र ठूदीभेरी नगरपालिका –३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेको जिल्ला प्रहरी कार्यालयले डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिनुभयो ।

घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –२, बस्ने नन्द बहादुर थापा र त्यही नगरपालिका –३, बस्ने चालक दिनेश बोहोरा रहेका छन् । थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै शवहरु जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

Loading...