पत्याउनुहुन्छ ? जो दैनिक तीन अर्ब भारु कमाउँछन्

कुनै पनि व्यक्तिको एक दिनको कमाई कति होला ? हजार वा लाख वा करोड । तर, पत्याउन गाह्रो पर्छ, गएको वर्ष भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानीले प्रत्येक दिन ३ अर्ब भारुको कमाई गरेका थिए ।

बाक्र्लेज हरन इण्डियाद्धारा प्रकाशित भारतीय धनाढ्यहरुको नालीबेली समेटिएको प्रतिवेदनले अम्बानीको आम्दानी दिनहुँ ३ अर्ब भारुले बढेको जनाएको छ। उनको कम्पनीको शेयर मूल्यमा भएको बृद्धिले यस वर्ष अम्बानीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले बढेर ३ लाख ७१ ह्जार करोड पुगेको समेत प्रतिवेदनलाई उदृत गर्दै भारतीय अंग्रेजी दैनिक द इकोनोमिक टाइम्स्ले लेखेको छ। सम्पत्तिमा भएको त्यस्तो बृद्धिले गर्दा नै रिलायन्स इण्डस्ट्रिजका अध्यक्ष ६१ वर्षीय अम्बानी लगातार सातौं वर्षपनि भारतका सबैभन्दा धनाढ्य व्यक्तिमा दरिन पुगेका छन्।

बाक्र्लेजले भारु एक हजार करोडभन्दा बढी खुद सम्पत्ति भएका धनाढ्यहरुको सूची तयार पारेको थियो। जसअनुसार त्यस्ता धनाढ्यहरुको संख्या सन् २०१७ को ६१७ बाट बढेर सन् २०१८ मा २०१८ पुगेको छ। धनाढ्यहरुको सूचीमा दोस्रो र तेस्रो नम्बरमा क्रमश: भारतीय मूलका बेलायती नागरिकद्वय एसपी हिन्दुजा र लक्ष्मी मित्तल छन्। चौथो नम्बरमा भने भारतीय आइटी कम्पनी बिप्रोका संस्थापक अजिज प्रेमजी रहेका छन्।

त्यसैगरी सत्ताधारी दल भारतीय जनता पार्टी निकट भनेर चिनिने गौतम अडानी आठौं नम्बरमा छन्। साथै भारतीय मूलकै पचास वर्षीय आइरिश नागरिक साइरश मिस्त्री भने नवौं नम्बरमा छन्। मिस्त्री चारवर्ष भन्दा बढी समय टाटा ग्रुपको अध्यक्ष समेत थिए। तर, पछि उद्योगी तथा टाटा ग्रुपकै पूर्व अध्यक्ष रतन टाटालगायत कम्पनीका अन्य सन्चालहरुसँगको मतभेदका कारण उनले कम्पनी छाडेका थिए।

अम्बानी एक्लैको सम्पत्ति एसपी हिन्दुजा एण्ड परिवारको १ लाख ५९ हजार करोड भारु, एलएन मित्तल तथा परिवारको १ लाख १४ हजार ५०० करोड भारु र अजिज प्रेमजीको ९६ हजार १०० करोड भारुको बराबर हुने समेत जनाइएको छ।

त्यसैगरी धनाढ्य परिवारहरुको सूचीमा पनि मुकेशकै अम्बानी परिवार नै पहिलो नम्बरमा रहेको छ। इकोनोमिक्स् टाइम्सका अनुसार त्यसपछि दोस्रोदेखि दशौं नम्बरमा क्रमश: गोदरेज, हिन्दुजा, मिस्त्री, सांघ्वी, नदार, अडानी, दमानी, लोहिया र बर्मन परिवार छन्।

भारतीय धनाढ्यहरुको सूचीमा ६६ जना गैरआवासी भारतीय (एनआरआई) पर्न सफल भएका छन्। सबैभन्दा बढी २१ जना युएईबाट छन् त्यसपछि अमेरिका र बेलायतका भारतीय छन्। एनआरआईहरुमध्ये बेलायतमा बस्ने हिन्दुजा समूहको एसपी हिन्दुजा तथा परिवार सबैभन्दा धनी रहेको छ। जसको सम्पत्ति १ लाख ५९ करोड भारु रहेको उक्त पत्रिकाले बाक्र्लेजलाई उदृत गर्दै लेखेको छ।

Loading...