स्याङ्जाबाट कर्णाली घुम्न गएका मेयर ग्याङफाइटमा परेर घाइते, टाउकोमा चार टाँका

काठमाडौँ । स्याङ्जाकाे एक नगरपालिकाका प्रमुख घुम्न गएका बेला कालिकाेटमा कुटिएका छन् । स्याङ्जाबाट कर्णाली प्रदेशमा घुम्न गएका नगरप्रमुख बीच बाटाेमै रक्सीले मात्तिएर हल्लाखल्ला गर्दै ग्याङफाइटतिर लागेपछि उनी कुटिएकाे बताइएकाे छ । ग्याङफाइटमा परेर मेयर घाइते भएका छन् । उनकाे टाउकाेमा चारवटा टाँका समेत लगाइएकाे छ । 

यसरी ग्याङफाइटतिर लागेर घाइते हुने मेयर स्याङ्जाकाे चापाकोटका नगरपालिकाका प्रमुख शिव गिरी हुन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिबार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् । झगडामा घाइते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए ।

जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक सुनिक एसकेको उपचार भइरहेको छ । गिरी नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुन् ।

होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेका थिए । भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो । होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षविच झडप भएको कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।

उनीहरुविच राती वियरको बोतल र ढुङगा हानाहानी भएको थियो । घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो । मेयर गिरीको टाउकोमा चोट लागेको र ४ वटा टाँका लगाइएको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने तयारी भएको छ ।

मेयर गिरीले यसअघि स्याङ्जामा एक युवकलाई कुटाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा काम गर्न नसक्ने ‘मेयर’ भनेर टिप्पणी गरेको विषयलाई लिएर मेयर गिरीले स्थानीय युवा बन्धु घिमिरेलाई पार्टीका युवा कार्यकर्ताहरू लगाएर कुटपिट गराएका थिए ।

Loading...