अलविदा पदमरत्न तुलाधर: नागरिक समाजका एक शिखर पुरुषको निधन

काठमाडौं । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता तथा नागरिक समाजकाे अान्दाेलनमा शिखर पुरुषकाे स्थान बनाएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रिफर गरिएको थियो ।

तुलाधरलार्इ मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालीन बिद्रोही माओवादी र सरकारबीच मध्यस्थकर्ताको भूमिका निभाएका तुलाधर पूर्व मन्त्री समेत हुन् । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा उनी श्रम तथा स्वास्थ्य मन्त्री थिए ।

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । आइतबार दिउँसो ट्विटरमार्फत उनले तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधारलाई आइतबार शोक सन्देश पठाउँदै कठिन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको जनाएका छन् । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधारसँग बिताएका क्षणहरुकोसमेत स्मरण गरे ।

‘उहाँले विभिन्न संघर्षमा निर्भिकतापूर्वक देश, जनता र लोकतन्त्रका पक्षमा गरेका अनवरत योगदान मेरो स्मृतिमा आइरहेका छन् । तिनलाई म अत्यन्त आदरपूर्वक स्मरण गरिरहेको छु,’ शोक सन्देशमा भनिएको छ, ‘पद्मरत्न तुलाधार एक देशभक्त, लोकतन्त्रवादी, सामाजिक न्याय तथा समानताका पक्षधर र देशमा शान्ति एवं समृद्धि प्राप्तीको संघर्षका अथक अगुवा र वास्तविक जनपक्षीय व्यक्ति हुनुहुन्छ ।’

प्रधानमन्त्रीले शान्ति र मानवअधिकारका अभियन्ताकोरुपमा समेत स्थापित तुलाधारको निधनले देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षति पुगेको जनाएका छन् ।

Loading...