प्रहरीका ठूला हाकिमको विभिन्न खानीमा गोप्य लगानी

काभ्रे, १७ कार्तिक । प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यापार व्यवसायमा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन् । यस्तै, परिच्छेद ८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा परिवारका नजिकका सदस्यको नाममा व्यापार व्यवसायमा लगानी गरेका छन् ।

प्रहरी सेवामा रहँदैका बखत पनि प्रहरीहरूको खानीमा लगानी छ भन्ने कुरा मण्डन देउपुर घटनाले पुष्टि गरेको छ । बहालवाला डीआईजी सुशील भण्डारी, एपीएफका पूर्वडीएसपी विनोद गौतम व्यवसायीसँग मिलेर मण्डन देउपुरमा बालुवाको वासिङ मेसिनसहितको खानी चलाउने उद्देश्यले त्यहाँ पुगेका थिए । व्यवसाय विस्तारकै लागि डीआईजी भण्डारी र पूर्वडीएसपी गौतम, व्यवसायी बोगटी स्थानीय धनराज पुरीलगायतको टोली मण्डनदेउपुर पुगेका थिए । मण्डनदेउपुर–६ मा पुरीको जग्गामा बालुवा खानी सञ्चालन गर्ने उनीहरूको तयारी थियो । पत्रकार जीवन पराजुली र ट्रेड युनियनका नेता विनोद कार्की के गरी उनीहरूको साथमा पुगे भन्ने अझै पुष्टि भएको छैन् ।

एक महिनाको बिदा स्वीकृत गराएर नयाँ व्यवसायको ‘डिल’ फाइनल गरेर कात्तिक १२ गते नै विदेश जाने तयारीमा रहेका भण्डारीसहित अन्य २ जनाको जीन्दगी नै त्यही खानीले लग्यो । काभ्रेका विभिन्न क्रसर उद्योगमा भण्डारीको लगानीसमेत देखिएको छ ।

डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए । भण्डारीसहित जनक लामा, रवीन्द्र केसी, मनोज सिग्देल, नजर कार्की, किरण कार्की, राजाराम कार्की, तुलसी पोखरेल, प्रेम कार्की, ध्रुव केसीसहितको साझेदारीमा सञ्चालन गरेको खुुलेको छ । उनीबाहेकका टोली भने अहिले विभिन्न देश घुमघाममा छन् ।

एक साझेदारले मासिक ८ देखि १० लाखसम्म नाफा गर्ने खानी र क्रसर दुवै रहेको उद्योगको अध्यक्ष मनोज सिग्देल हुन् । भण्डारी, विनोद थापा, सहदेव थापाको लगानीमा बेथानचोक गाउँपालिकास्थित चलाल गणेश स्थानमै खानी उत्खननको अनुमतिका लागि कम्पनी खुलेको छ । स्रोतका अनुसार काभ्रेमा भण्डारी जस्तै अन्य प्रहरी सेवामा रहेका व्यक्तीहरूको खानी तथा क्रसरहरूमा अवैध लगानी छ ।

डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । मृतक भण्डारीको तर्फबाट उनका भतिजा क्षितिज भण्डारी र पराजुलीको तर्फबाट राजनप्रसाद पराजुलीले कानुनी कारबाहीको लागि व्यवसायी एवं सवारी चालक प्रदीप बोगटीको विरुद्धमा प्रहरीमा उजुरी गरेपछि काभ्रे प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान शुरु गरेको छ । बोगटीलाई सवारी ज्यान मुद्दा दर्ता गरेर १० दिनको म्याद थप गरिएको छ । आफंै घाइते बोगटी बीएण्डबी अस्पतालमा उपचाररत थिए । बिहीबार दिउँसो डिस्चार्ज भएपछि काभ्रे प्रहरीले उनलाई जिल्लामा ल्याएको छ ।

जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु र ३ घाइते भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले डीएसपी दिपक गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । मृतकका आफन्तको उजुरी एवं घटनास्थलको अनुगमनपछि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो । प्रहरीकै बहालवाला डीआईजी, पत्रकार एवं ट्रेड युनियनका नेताको मृत्यु भएपछि गिरीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निशेष चापागार्इं, दिनेश लामिछाने, पुस्कर खड्का र बासुदेव खड्का सदस्य रहेको छानबिन समिति गठन गरेको हो । समितिले काम सुरु गरिसकेको छ ।

शनिवार डीआईजी, पत्रकार र ट्रेड युनियनका नेताको ज्यान जाने गरी भएको जीप दुर्घटनास्थलमा प्रहरीका डीआईजी पूर्णचन्द्र जोशी नेतृत्वको टोली वस्तुस्थितिबारे जानकारी लिन पुगेको छ । प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रमुख जोशी नेतृत्वको टोलीले मण्डनदेउपुर ६ को दुर्घटनास्थल पुगेर वस्तुस्थितीबारे जानकारी लिएर फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको टोलीले स्थलगत निरिक्षणमात्र गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै संघीय प्रहरी इकाई जनागालका प्रमुख एसएसपी सौरभ राणा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी रविराज खड्का, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवालगायतको टोली घटनास्थल हेरेर फर्किएका छन् ।

Loading...