७७ लाख भ्रष्टाचार भएको खुलेपछि १० जना विरुद्ध मुद्दा दायर

काठमाडौं, १७ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । रंगभूमि मैदान, गंगासागर र गाछी संरक्षणको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक डा. सूर्यदेव शाह र राकेशकुमार शाह, नासु उषा मिश्र, लेखापाल उत्तमराज शर्मा, सबइन्जिनियर परशुराम शाह, तत्कालीन प्रोजेक्ट इन्जिनियर उपेन्द्र झाविरुद्ध मुद्दा दायर गरिएको छ । त्यस्तै, दुई ठेकदार कम्पनीका प्रतिनिधिलाई पनि प्रतिवादीका रूपमा मुद्दा दायर भएको छ ।

चन्द्रा एन्ड वसन्त कन्सट्रक्सनका प्रतिनिधि वसन्तकुमार राउत र डाँफे सगरमाथा जेभीका प्रदीपनारायण शाहविरुद्ध मुद्दा दायर गरिएको छ ।भारतीय दूतावासको सहयोगमा परिषद्ले गरेका विकास निर्माणका काममा अनियमितता भएको हो । बोलपत्र छनोटकै क्रममा कम दररेटको प्रस्ताव गर्नेलाई समावेश नै नगरी अनियमितता भएको आयोगको छानबिनमा खुलेको छ ।

Loading...