चीनले नेपाली सेनालाई दियो साढे २ अर्ब

काठमाडौं । चीनले नेपाली सेनालाई १५ करोड युयान (दुई अर्ब ५३ करोड ६५ लाख रुपैयाँ) सहयोग घोषणा गरेको छ । चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी स्टेट काउन्सिलर जनरल वेई फेङबीच उक्त सैन्य सहयोग सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ । हस्ताक्षरअघि दुई रक्षामन्त्रीबीच औपचारिक वार्ता भएको थियो । चीनले घोषणा गरेको सैन्य सहायता पाँच वर्षभित्र दिनेछ ।

रक्षामन्त्रीस्तरीय औपचारिक वार्तामा दुई देशका जनता र सेनाबीचको सम्बन्ध थप विकसित गर्ने सहमति पनि भएको छ । तीनबुँदे समझदारीपत्रमा मानवीय सहायता तथा प्रकोपका वेला उद्धारमा आवश्यक उपकरण खरिद र नेपालसम्मको ढुवानीको जिम्मा चीनले लिने उल्लेख छ ।

सैन्य अनुदानअन्तर्गत चीनले दिएको रकमबाट चीनमै खरिद हुने सामग्रीको संख्या, हस्तान्तरण हुने स्थान तय भएपछि द्विपक्षीय प्रोटोकलमा हस्ताक्षर हुनेछ । त्यसपछि मात्रै सामग्री नेपालमा आउने छ ।

‘हस्तान्तरणका लागि दुवै पक्षले प्रतिनिधि तोक्नेछन्,’ द्विपक्षीय समझदारीपत्रमा भनिएको छ, ‘सामग्री ढुवानीको आवश्यक बन्दोबस्त र ढुवानी शुल्क चीनले तिर्नेछ । नेपालको निश्चित स्थानसम्म हुने ढुवानीपछिको आवश्यक यातायात खर्च नेपालले नै व्यहोर्नेछ ।’ तीन पृष्ठ लामो समझदारीपत्रमा हस्ताक्षरसँगै कार्यान्वयन प्रक्रिया सुरु भएको उल्लेख गरिएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको पछिल्लो उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुमधुर भएको नेपाली दूतावास बेइजिङका उपनियोग प्रमुख सुशीलकुमार लम्साल बताएका छन् ।

रक्षामन्त्री पोखरेलले समकक्षी वेईसँग नेपालमा प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि सहयोगको प्रस्तावसमेत गरेका छन् । प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको एक नेपाली अधिकारीले बताए ।

‘विस्तृत प्राविधिक तयारीसहित यो प्रस्ताव गरिएको थिएन । तर, चिनियाँ पक्षले प्रतिरक्षा विश्वविद्यालय निर्माणमा चासो राखेको छ,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने, ‘मूलतः नेपालको अपेक्षा विश्वविद्यालयको भौतिक पूर्वाधारका सन्दर्भमा हो । यसमा हार्डवेयर र सफ्टवेयर दुवै विषय आउन सक्छ ।’

नेपाली दूतावासका अनुसार चिनियाँ रक्षामन्त्री वेईले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच आपसी सहयोग आदानप्रदानसम्बन्धी नेपालको प्रस्तावको सराहना गरेका छन् । उनले नेपाली समकक्षी पोखरेलको प्रस्तावलाई सहयोग गर्न तयार रहेको जवाफ दिएका छन् । दुवै पक्षबीच आपसी वार्ताबाट यससम्बन्धी सहयोगको ढाँचा टंग्याउने सहमति भएको छ ।

रक्षामन्त्री पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष सु छियालिङसँग शुक्रबार अपराह्न भेटवार्ता गरेका थिए । आयोगका अध्यक्ष चिनियाँ राष्ट्रपति सी जिनपिङ हुन् । चिनियाँ जनमुक्ति सेनाको मुख्यालयमा मन्त्री पोखरेललाई सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

उपाध्यक्ष सुले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न चीनको सधैँ सहयोग रहने बताएका थिए । रक्षा मन्त्रालयका अनुसार सुले नेपाल–चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको तथा चीनको उच्च प्राथमिकतामा नेपाल रहेको बताएका थिए । पोखरेलले चीनको सुरक्षा संवेदनशीलतालाई नेपालले उच्च महत्व दिएको र नेपाल–चीन सिमानामा चीनविरोधी कुनै पनि घटना हुन नदिने दृढता व्यक्त गरेका थिए ।

रक्षामन्त्री पोखरेलले नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गर्दै सैन्य उपकरणमा आत्मनिर्भर संस्थाका रूपमा विकास गर्ने लक्ष्य सुनाए । यसका लागि चीनले गरेको सहयोगका लागि उनले धन्यवाद दिए । उनले दुई देशबीच सम्पर्क सुदृढ बनाउन विगतका समझदारीअनुसार रेलमार्ग निर्माण हुनुपर्नेमा समेत जोड दिए ।

‘दुई देशका प्रमुख व्यापारिक नाकालाई जोड्ने गरी यथाशीघ्र रेलमार्ग निर्माण गर्न आवश्यक भएको र यो विषयलाई आगामी दिनमा प्राथमिकतामा राखी कार्यान्वयन गरिदिन रक्षामन्त्री पोखरेलले चीन सरकारलाई विशेष अनुरोध गर्नुभयो,’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading...