न्याय दर्शन के हो ? न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

भौतिक व्याख्या गर्ने सन्दर्भमा हाम्रो जुन अवधारणा तयार हुन्छ, त्यो नै दर्शन हो । ‘संसारको संचालक ईश्वर हुन्’– यो एक प्रकारको दर्शन भयो । ‘ईश्वर होइन, भौतिक तत्वबाट नै जगतको सृष्टि भएको हो’– यो अर्को प्रकारको दर्शन भयो । यी दुई विपरीत मान्यताहरुलाई आत्मसात् गर्दै चलाइएको बहसका आधारमा नै अहिलेसम्म दार्शनिक व्याख्या निरन्तर रुपमा अगाडि बढ्दै आइरहेको छ । यस प्रकारको विश्लेषण तथा वहसमा न्याय दर्शनको भूमिका के छ त ? यहाँ विषयवस्तुलाई त्यही कुरामा नै केन्द्रित गरिनेछ ।

ईशापूर्व चौथो शताब्दीमा एउटा अत्यन्तै लोकप्रिय दार्शनिक प्रणाली पैदा भयो । त्यो प्रणाली भनेको न्याय दर्शन हो । यो प्रणालीका प्रणेता गौतम अक्षपाद मानिन्छन् । यो दर्शनको उत्पत्ति बुद्ध दर्शका मान्यताहरुको खण्डन गर्नको लागि नै भएको थियो । त्यो बेला बौद्ध धर्मका अनुयायीहरु आफ्नो घर परिवार सबै छाड्दै भिक्षुको रुपमा परिवर्तित हुँदै गइरहेका थिए । दुःखबाट मुक्ति पाउन हिँडेका युवाहरु त्यसरी यताउता डुल्दै हिँडेको समाजका कतिपय व्यक्तिहरुलाई सह्य भएन । तर्क–वितर्कमा मात्रै विश्वास गर्ने ती युवाहरुलाई पुनः कौटुम्बिक जीवनतर्फ फर्काउन तर्कहरुको नै सहारा लिइयो । र, यसरी सर्वप्रथम बुद्ध दर्शनको प्रतिक्रियास्वरुप गौतमले तर्कशास्त्रको रचना गरे, जसलाई न्यायशास्त्र अथवा न्यायसूत्र भन्ने गरिन्छ । बुद्ध दर्शन जस्तै यो दर्शनले पनि ‘दुःखबाट कसरी मुक्ति सम्भव छ त ?’ त्यो विषयमा नै आफूलाई केन्द्रित गर्यो । त्यसको साथै ‘सही ज्ञान प्राप्त गरेपछि नै दुःखबाट मुक्ति पाउन सकिने ठहर गर्दै’ दार्शनिक व्याख्यालाई त्यतातिर नै लक्षित गरियो ।

गौतमको न्यायसूत्र पाँच अध्यायमा विभाजित छ र प्रत्येक अध्यायलाई २-२ परिच्छेदमा विभाजित गरिएको छ । न्याय दर्शनलाई सर्वप्रथम गौतमद्वारा सूत्रवद्ध गरिएता पनि पछिका दिनहरुमा वात्स्यायन, वाचस्पति मिश्र, उदयनाचार्य, भासर्वज्ञ, जयन्त भट्ट र बाह्रौं शताब्दीतिर गंगेशले यो दर्शनलाई आधुनिक रुप दिँदै गए । यस सन्दर्भमा वात्स्यायनको न्यायसूत्रभाष्य, वाचस्पतिको न्यायसूचिनिबन्ध, उदयनाचार्यको न्यायकुसुमांजलि, भासर्वज्ञको न्यायसार, जयन्तको न्यायमंजरी तथा गंगेशको तत्व चिन्तामणिलाई महङ्खवपूर्ण उपलब्धिको रुपमा लिन सकिन्छ ।

सामान्यतः ‘न्याय’ शब्दको अर्थ वादविवाद गर्नु मानिन्छ । दार्शनिक स्तचेर्बात्सकीका अनुसार यो दर्शनको उद्भव सामान्य वादविवादबाट नै भयो । अर्थात् दुई विपरीत विचार तथा मान्यताहरुलाई तर्कका आधारमा एक अर्काको प्रतिवाद गर्दै, न्यायोचित निकास कसरी सम्भव छ त ? त्यो दिशामा नै यो प्रणालीका पक्षधरहरु लक्षित रहे । जस्तो कि प्राचीन बौद्ध प्रणालीमा त्यस्तो पद्धति अपनाइएको हामी पाउँछौँ । न्यायले अपनाएको यस प्रकारको पद्धतिका कारण नै यसलाई प्राचीन पूर्वीय दर्शनको तर्क विज्ञानको रुपमा चिनिन्छ । यसलाई कहिलेकहिले हेतुविद्या अर्थात् कारणहरुको विद्याको रुपमा पनि प्रकट गर्ने गरिन्छ । तार्किक पद्धतिद्वारा सही ज्ञान प्राप्त गर्नु नै यो दर्शनको उद्देश्य रह्यो । न्याय दर्शनलाई परिभाषित गर्दै न्यायसूत्रभाष्यमा वात्स्यायन भन्दछन्– ‘तार्किक प्रमाणका नियमहरुद्वारा ज्ञानका वस्तुहरुको आलोचनात्मक परीक्षा नै न्याय हो ।’ यो परिभाषाबाट पनि स्पष्ट छ– सत्यको पहिचानको सन्दर्भमा देखापरेका विभिन्न प्रकारका भ्रम तथा गलत तर्कहरुका विरुद्ध नै यो दर्शनले आफूलाई केन्द्रित गर्यो । र, त्यही आधारमा दार्शनिक व्याख्यालाई अगाडि बढाउँदै लगियो ।

अन्तिम अविभाज्य कण परमाणुबाट नै भौतिक जगतको संरचना भएको वैशेषिक दर्शनको मत थियो । न्याय दर्शनले पनि ब्रम्हाण्डको सृष्टिको सम्बन्धमा उक्त पारमाणविक सिद्धान्तलाई नै स्वीकार गर्दछ । अर्थात् मष्तिष्कभन्दा स्वतन्त्र, अपरिवर्तनीय, कारणहीन, शाश्वत् (जो कहिल्यै नष्ट हुँदैन), सूक्ष्म परमाणु नै अन्तिम सत्य भएको यो दर्शनको ठहर छ । यस प्रकारका परमाणुहरुको क्रिया–प्रतिक्रियाको फलस्वरुप नै ब्रम्हाण्डको निर्माण भएको यो दर्शनको मान्यता रह्यो । यसरी ब्रम्हाण्डको उत्पत्तिको कारण कुनै ईश्वर अथवा कुनै अलौकिक शक्ति नभएर परमाणु नै भएको बताएको हुनाले गौतमको न्यायसूत्रलाई भौतिकवादी दर्शनको रुपमा नै स्वीकार गर्नुपर्ने हुन्छ ।

‘ब्रम्हाण्डको सृष्टि ईश्वरद्वारा गरिएको होइन’ –यस प्रकारका अवधारणाको लागि न्यायसूत्रले के तर्क प्रस्तुत गर्दछ भने ‘पारमाणविक तत्वहरु शाश्वत् र यथार्थ हुन्छन् ।’ अतः शाश्वत् तत्वको कुनै स्रष्टा हुने प्रश्न नै उठ्दैन । तर परमाणुहरु शाश्वत् हुन्छन् भन्नको लागि वैज्ञानिक आधार के त ? त्यति प्राचीनकालमा आवश्यक वैज्ञानिक तथ्यहरुको अभावमा यो प्रश्न समाधान हुन संभव नै थिएन तर पनि अनुभवको आधारमा भए पनि गौतमको यो अवधारणालाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने हुन्छ ।

महत्वपूर्ण कुरा के छ भने पृथ्वी, जल, अग्नि, वायु र आकाशलाई नै यो दर्शनले मूलभूत तत्वको रुपमा स्वीकार गर्दछ । तथा यी तत्वहरुको क्रिया–प्रतिक्रियाको फलस्वरुप नै ब्रम्हाण्डको उत्पत्ति भएको; विभिन्न प्रकारका जीव तथा अजीवहरुको अस्तित्व सम्भव भएको यो दर्शनको ठहर छ । यो ठहर भौतिकवादी छ ।

त्यस्तै, यहाँ पाँच आधारभूत तत्वबाहेक चार अन्य तत्वहरुको अस्तित्व पनि स्वीकार गरिएको छ– समय, अवकाश, मष्तिष्क र आत्मा । यहाँ आत्माको अर्थ वेद तथा उपनिषदहरुमा उल्लेख गरिएको जस्तो आत्मा नभएर घृणा, दुःख, द्वैष, इच्छा, आनन्दजस्ता भावनात्मक पक्षहरुलाई आत्मा भनिएको छ । सूत्रमा के पनि बताइएको छ भने शरीरको अभावमा न त आत्माको अस्तित्व सम्भव छ न त त्यसले कुनै कार्य गर्नसक्दछ । न्याय दर्शनको यो सोच भौतिकवादी देखिन्छ । मानिसको मृत्यपछि ‘आत्माको परमात्मासित मिलन हुन्छ’ जस्तो कुतर्कलाई यहाँ विश्वास गरिएको छैन । त्यस्तै, शरीरलाई विभिन्न प्रकारका क्रियाहरुको विभिन्न प्रकारका अनुभवहरुको आवासको रुपमा लिइएको छ ।

ज्ञानलिंगत्वादात्मनो नानवरोधः अर्थात् गौतमको न्यायसूत्रमा हामीले प्राप्त गर्ने ज्ञानलाई आत्माको लक्षण भनिएको छ । बुद्धिलाई मनको यस्तो शक्तिको रुपमा लिइएको छ, जसले वस्तुलाई बुझ्दछ तथा त्यसका गुण र दोषहरुको विवेचना गर्दछ ।

यसरी स्पष्ट छ– कुनै अलौकिक सत्ताको सम्बन्धमा वैशेषिक दर्शनको जुन अवधारण थियो, न्याय दर्शनको पनि लगभग त्यही प्रकारको अवधारणा रहेको छ, जुन भौतिकवादी छ । अर्थात् त्यति प्राचीनकालमा पनि गौतमद्वारा ब्रम्हाण्डको गठन प्रक्रियाको सम्बन्धमा ईश्वरको सत्तालाई स्वीकार गरिएन, जुन कुरालाई दार्शनिक रिचार्ड गार्वेले आफ्नो पुस्तक Philosophy of Ancient India मा पनि स्वीकार्दै बताएका छन्– ‘यी दुवै प्रणालीहरुको मूल पाठ्यपुस्तकमा ईश्वरको अस्तित्वलाई स्वीकार गरिएन । यो कुरालाई स्वीकार गरिएन कि पदार्थको कुनै स्रष्टा पनि हुन्छ । पछि नै यी दुवै प्रणालीहरुमा परिवर्तन भयो र त्यहाँ ईश्वरवाद आयो ।’

प्रमुख तत्व के हो ? वैशेषिक दर्शन, यस प्रकारको अध्ययनमा नै बढी केन्द्रित रह्यो । (यस प्रकारको अध्ययनलाई दार्शनिक भाषामा तत्वमीमांसा भनिन्छ) तर न्याय दर्शनले वैशेषिकको त्यस प्रकारका दार्शनिक मान्यतालाई आधार मान्दै ज्ञानका समस्याहरु समाधान गर्नेतर्फ नै आफूलाई लक्षित गर्यो । प्रकृतिका नियमहरुलाई आधार मान्दै मानव मष्तिष्कका समस्याहरु समाधान गर्ने दिशातर्फ यो दर्शन अग्रसर भयो ।

ज्ञानमीमांसा (ज्ञानको सिद्धान्त) दर्शनशास्त्रको एउटा महत्वपूर्ण अंग हो । तर यो मीमांसा त्यो अवस्थामा नै सत्यको घेराभित्र पर्न सक्दछ, जब यसको तत्वमीमांसीय अधार सही हुन्छ । अर्थात् प्रमुख तत्व के हो ? यो प्रश्नलाई हामी सही रुपमा समाधान गर्न सक्दैनौँ भने ज्ञानका समस्याहरुलाई पनि सही प्रकारले समाधान गर्न सकिँदैन । यदि हामी कुनै अलौकिक सत्तालाई प्रमुख सत्ताको रुपमा स्वीकार गर्दछौं भने हामीले प्राप्त गर्ने ज्ञान पनि असत्य र काल्पनिक मात्रै हुन्छ । तर न्यायको तत्वमीमांसीय आधार भौतिकवादी प्रकारको रह्यो । त्यसैले ज्ञानमीमांसाको क्षेत्रमा न्याय प्रणालीले यथार्थतालाई पहिचान गर्न सक्षम भएको हामी सहजै दावी गर्न सक्छौं, जुन कुरा गौतम अक्षपादको न्यायसूत्र अध्ययन गर्दा पनि प्रष्ट हुन्छ ।

दर्शनले समग्रता त्यो अवस्थामा नै लिन सक्दछ, जब त्यसले तत्वमीमांसाका साथै ज्ञानमीमांसालाई समेत समेट्न सक्दछ । कुनै पनि दार्शनिक सोचाइ तथा मान्यता त्यो अवस्थामा नै सत्यको घेराभित्र पर्न सक्छ, जब भौतिकवाद तथा द्वन्द्ववाद दुवैलाई आत्मसात् गर्न सक्दछ । न्याय दर्शन, यी विभिन्न पक्षहरुको गहिराइमा पुग्न नसके पनि अनुभवका आधारमा भए पनि उसको ठम्याइ सही भएको हामीले मूल्यांकन गर्नुपर्ने हुन्छ । के सही हो ? के गलत हो ? यी प्रश्नहरु समाधान गर्न वेद र उपनिषदहरुमा उल्लेख गरिएका काल्पनिक शब्दजालहरु तर्क केन्द्रित नभएर न्याय प्रणाली, भौतिक जगततर्फ नै केन्द्रित भए । विशेष गरेर गौतमको न्यायसूत्रको त्यो दिशमा उल्लेखनीय भूमिका रह्यो ।

न्याय दर्शनको यस प्रकारको दार्शनिक चिन्तनले गर्दा पनि भविष्यमा एउटा व्यावहारिक तथा वैज्ञानिक दार्शनिक पद्धतिको निर्माणको लागि महत्वपूर्ण पृष्ठभूमि तयार हुँदै गयो । सत्यताको पहिचानको दिशामा न्याय लगायतका दार्शनिक प्रणालीहरुको यस प्रकारको विश्लेषणले गर्दा नै होला एंगेल्सले आफ्नो पुस्तक ड्यूरिंग मतखण्डनमा भनेका छन्– “दार्शनिक प्रणालीलाई अझ उच्च रुप दिन योभन्दा राम्रो कुनै उपाय छैन कि पहिलेका दर्शनहरुको अध्ययन गरियोस् ।”

ज्ञान के हो ? सही ज्ञान कसरी प्राप्त हुन सक्दछ ? ज्ञान सही छ या गलत, त्यो जाँच्ने कसौटी के हो ? यी प्रश्नहरु समाधान गर्न दार्शनिकहरु विभिन्न प्रकारले प्रयासरत छन् । प्राचीनकालका दार्शनिकहरुदेखि लिएर आधुनिक दार्शनिकहरुसम्म एउटा निश्चित मापदण्डका आधारमा अथवा एउटा निश्चित तत्वमीमांसीय दृष्टिकोण (पदार्थ अथवा चेतनालाई प्राथमिकता दिँदै तयार भएको दृष्टिकोण)का आधारमा ज्ञानमीमांसा (ज्ञानको सिद्धान्त)को गहिराइसम्म पुग्ने प्रयास गर्दै आइरहेका छन् । आदर्शवादीहरु, चेतना अथवा ईश्वरलाई प्रमुखता दिँदै ज्ञानका समस्याहरु समाधान गर्न प्रयासरत रहे भने भौतिकवादीहरु, पदार्थलाई प्राथमिकता दिँदै । न्याय दर्शन पनि यस प्रकारको बहसबाट पछाडि हटेन । निश्चित मापदण्ड अर्थात् पदार्थ नै प्रमुख हो भन्ने धारणा राख्दै यो दर्शन ज्ञानका समस्याहरु समाधान गर्न अग्रसर रह्यो । न्याय दर्शनअन्तर्गतका अन्य दार्शनिकहरुभन्दा पनि गौतम अक्षपादको न्यायसूत्रको त्यो दिशामा महत्वपूर्ण योगदान रहेको छ ।

गौतमको न्यायसूत्रमा सम्पूर्ण चीजहरुलाई विशेष गरेर दुई भागमा विभाजित गरिएको छ– चेतन र अचेतन । जसको प्राण हुन्छ, जसमा परिवर्तन हुन्छ, त्यो चेतन भयो भने त्यसको विपरीत स्वरुप भएकाहरु अचेतन भए । यहाँ चेतन र अचेतनलाई एकअर्कासित स्वतन्त्र भएको पनि भनिएको छ, त्यसका साथै यी दुवैबीच अभिन्न सम्बन्ध रहेको पनि बताइएको छ । अचेतन (वस्तुगत यथार्थ), चेतन (मानसिक यथार्थ)भन्दा स्वतन्त्रमात्रै हुने होइन, मानसिक जीवनका विभिन्न क्रियाहरुको लागि आवश्यक शर्त पनि भएको यहाँ बताइएको छ । ती कुरा न्याय दर्शनले निम्न उदाहरणबाट स्पष्ट पार्ने प्रयत्न गर्छ :

ग्रीष्म ऋतुको शुरुवातसँगै हामीलाई गर्मीको अनुभूति हुन्छ । यहाँ हामीलाई ‘गर्मी अनुभूति हुनु’ (चेतना), मानसिक यथार्थ भयो, जुन अनुभूति, ग्रीष्म ऋतु (अचेतन) भएका कारणमात्रै सम्भव भएको हो । त्यस्तै यहाँ अचेतन पक्ष चेतनभन्दा स्वतन्त्र प्रकारले अस्तित्वमा रहेको हामी सहजै स्पष्ट हुन सक्दछौँ, जुन तथ्यलाई लेनिनले आफ्नो पुस्तक भौतिकवाद र अनुभवसिद्ध आलोचनामा पनि पुष्टि गर्दै भनेका छन्– “यो संसार, यसको परिवेश तथा अन्य थुप्रै वस्तुहरु हाम्रा इन्द्रीयबोध, हाम्रो चेतना, हाम्रो आत्मा र आमरुपमा स्वयं मनुष्यबाट पनि स्वतन्त्र हुन्छ ।”

न्याय सूत्रअनुसार चेतन पक्षको अस्तित्व केवल अचेतन पक्षको क्रियाशीलताबाट मात्रै सम्भव हुन्छ । अर्थात् यदि ग्रीष्म ऋतुको शुरुवात नहुँदो हो त हामीलाई कहिल्यै पनि गर्मीको अनुभूति हुने थिएन; आँधी, हुरी, वर्षात् (जो अचेतन हुन्)जस्ता प्राकृतिक प्रकोपहरुको सामना गर्नु नपर्दो हो त हामीलाई कहिल्यै पनि सुरक्षाको लागि ‘घर बनाउनु पर्दछ’ भन्ने अनुभूति हुने नै थिएन । यसरी ‘घर बनाउनु पर्दछ’ भन्ने चेतना, अचेतन पक्षको कारणले मात्रै सम्भव भयो । त्यसको विपरीत अचेतन वस्तुको अस्तित्वको लागि चेतन वस्तुको अस्तित्व रहोस् या नरहोस् त्यो कुनै सरोकारको विषय हुँदैन । हामीलाई गर्मीको अनुभूति होस् वा नहोस्, तर ग्रीष्म ऋतु आएकै हुन्छ । हाम्रो चेतनाले त्यसको अस्तित्वलाई समाप्त गर्न सक्दैन ।

यसरी चेतन र अचेतनबीचको सम्बन्धलाई प्रष्ट्याउन यो दर्शनले भौतिकवादी र द्वन्द्वात्मक मान्यतालाई आंशिक रुपमा भए पनि पक्रन सकेको हामीले सहजै देख्न सक्दछौँ, किनभने भौतिकवादी द्वन्द्ववादको सार पनि के हो भने वस्तुगत यथार्थ चेतनाभन्दा स्वतन्त्र रुपमा अस्तित्वमा रहन्छ । भौतिक वस्तुको अस्तित्वको लागि चेतन वस्तुको अस्तित्व आवश्यक कुरा होइन । तर, चेतनाको लागि भौतिक वस्तु नभई हुँदैन । दुईवटा विरोधी पक्षहरुको संघर्षका कारण एउटा तेस्रो पक्ष निकासको रुपमा स्थापित हुन्छ । त्यस्तै, द्वन्द्ववादको सार के पनि हो भने कुनै दुईवटा पक्षहरुको बीचमा एकता पनि हुन्छ, संघर्ष पनि हुन्छ । यो नियम दुनियाँको कुनै पनि चीजमा लागू हुन्छ ।

आदर्शवादीहरु चेतनालाई प्राथमिकता दिन्छन्, ज्ञानको स्रोत ईश्वर अथवा विशुद्ध चेतनालाई बताउने गर्दछन् । तर, न्याय दर्शनले अघिसारेका माथिका उदाहरणबाट हामी सहजै स्पष्ट हुन सक्दछौँ– ‘घर बनाउनु पर्दछ’ भन्ने चेतना कसरी प्राप्त भयो त ? स्वतःस्फूर्त चेतना अथवा अलौकिक सत्ताका आधारमा त्यस प्रकारको ज्ञान अवश्य पनि भएको होइन, बरु मानिस र प्रकृतिबीचको संघर्षको फलस्वरुप नै त्यसप्रकारको चेतना हामीलाई भयो । यसरी न्याय दर्शनले ‘चेतन पक्षको अस्तित्व, अचेतन पक्षको क्रियाशीलताबाट मात्रै सम्भव भएको’ बताएर भौतिकवादी धारलाई प्रतिनिधित्व गर्न सक्षम भएको हामी मूल्यांकन गर्न सक्दछौँ ।

न्याय दर्शनका अनुसार ज्ञान प्राप्तिको उद्देश्य, दुःख तथा पीडाहरुबाट मुक्ति पाउनको लागि हो । यो दर्शनको दृढ मत के रह्यो भने विश्व र वस्तुहरुको सही ज्ञान प्राप्त गर्नुपर्दछ, अन्यथा विभिन्न दुःख र कष्टहरुको भागीदार बन्नुपर्दछ । विभिन्न प्रकारका कष्टहरुबाट मुक्ति पाउन वैशेषिक दर्शनमा ७ वटा पदार्थहरुको विवेचना गरिएको छ भने यहाँ १६ वटा पदार्थहरुको बारेमा चर्चा गरिएको छ । तर वैशेषिकका द्रव्य, गुण, कर्म आदि ७ पदार्थहरुलाई यहाँ ज्ञान प्राप्त गर्ने वस्तु (ज्ञातव्य वस्तु)को रुपमा केवल एउटा पदार्थको रुपमा सीमित गरिएको छ, जसलाई यहाँ प्रमेय भनिएको छ । गौतमको न्याय सूत्रमा उल्लेख गरिएका १६ वटा पदार्थहरु यसप्रकार छन्– प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टान्त, सिद्धान्त, अवयव, तर्क, निर्णय, वाद, जल्प, वितंडा, हेत्वाभास, छल, जाति र निग्रहस्थान । यी पदार्थहरुमध्ये दुई पदार्थ– प्रमाण र प्रमेयलाई नै यो दर्शनले विशेष महत्व दिएको छ । त्यस्तै, अन्य पदार्थहरुलाई यहाँ ज्ञान प्राप्तिको साधन भनिएको छ; जसद्वारा विभिन्न त्रुटि तथा भ्रमहरुबाट मुक्ति पाउँदै सत्यको नजिक पुग्न सकिन्छ ।

न्यायसूत्रमा प्रमाणलाई विशेष महत्व दिँदै चर्चा गरिएको छ । प्रमाण ४ प्रकारका हुन्छन्– प्रत्यक्ष, अनुमान, उपमान र शब्द । संक्षेपमा भन्नुपर्दा प्रत्यक्ष ज्ञान त्यो हो जो कुनै इन्द्रीय (आँखा, कान आदि)को कुनै वस्तुसित सम्पर्कको फलस्वरुप हुन्छ । अनुमान त्यो हो, जुन कुनै वस्तुको ज्ञान प्राप्त गर्नुभन्दा पहिले गरिन्छ । उपमान त्यस्तो ज्ञान हो, जो कुनै वस्तुको बारेमा पहिलेबाटै प्राप्त ज्ञानसित अन्य कुनै वस्तुहरुको तुलनाबाट प्राप्त हुन्छ । तथा शब्द, कुनै विश्वसनीय व्यक्तिहरुद्वारा संचारित ज्ञान हो ।

न्यायसूत्रमा प्रत्यक्ष ज्ञानलाई यसरी परिभाषित गरिएको छ– इन्द्रियार्थ सन्निकर्षोत्पन्न ज्ञान मव्य पदेश्याभिचारि व्यवसायत्वकं प्रत्यक्ष् । अर्थात् प्रत्यक्ष त्यो ज्ञान हो, जुन कुनै इन्द्रीयको कुनै वस्तुसित सम्पर्कको फलस्वरुप प्राप्त हुन्छ, तथा जुन शब्दमा व्यक्त गर्न योग्य तथा त्रुटिहीन हुन्छ । त्यस्तै, न्यायसूत्रभाष्यमा वात्स्यायनले प्रत्यक्ष–प्रक्रियाको वर्णन यसरी गरेका छन्– आत्माको मनसित संयोग हुन्छ, मनको ज्ञानेन्द्रीयहरुसित सम्पर्क हुन्छ, ज्ञानेन्द्रीयहरुको वस्तुसित सम्पर्क हुन्छ, त्यसपछि जब बाह्य प्रकाश आदिको उपस्थिति हुन्छ; प्रत्यक्ष हुन्छ । गौतमको प्रत्यक्षसम्बन्धी परिभाषालाई हामी ४ भागमा विभाजित गर्न सक्दछौँ – पहिलो, इन्द्रीयहरु, दोस्रो अर्थ अथवा जुन वस्तुको ज्ञान प्राप्त गर्नुपर्ने हो, तेस्रो सन्निकर्ष अथवा ती वस्तुहरुको इन्द्रीयसित सम्पर्क र अन्तिम, सम्पर्कद्वारा प्राप्त ज्ञान ।

गौतमले सही ज्ञान प्राप्त गर्नका लागि निम्न पाँचवटा कुराहरु आवश्यक हुनुपर्ने बताउँछन् – एक, त्यो वस्तु जसको ज्ञान प्राप्त गर्नुपर्ने हो, दुई, बाह्य उपकरण (प्रकाश आदि), तीन, इन्द्रीयहरु, चार, मस्तिष्क, जसको बिना इन्द्रीयहरु क्रियाशील हुँदैनन् र पाँच, निरीक्षक अर्थात् ज्ञान प्राप्त गर्नेवाला । यीमध्ये कुनै एकको अभावमा पनि ज्ञान प्राप्त हुन नसक्ने सूत्रमा उल्लेख गरिएको छ । जस्तै – प्रकाशको अभावमा कुनै वस्तुलाई राम्ररी देख्न सकिँदैन । त्यस्तै, आँखा कुनै रोगबाट पीडित भयो, जस्तै पीलिया आदि रोग भयो भने दृष्टिमा केही त्रुटि हुनसक्छ । मस्तिष्क अशांत अथवा एकाग्र छैन भने हाम्रो निरीक्षण गलत हुन सक्दछ ।

विद्यमान परिस्थितिसित मेल नखाने विशुद्ध चिन्तन प्रक्रियाको वकालत गर्दै आइरहेका आदर्शवादीहरुलाई गौतमका यी तथ्यहरुले सशक्त चोट पुर्याएको हामी सहजै अनुमान गर्न सक्दछौँ । अर्थात् वस्तुगत यथार्थलाई सबैभन्दा बढी महत्व दिइन्छ । यो कुरालाई गौतमले आफ्नो सूत्रमा बारम्बार जोड दिएका छन् । गौतमका कतिपय तथ्यहरु अहिलेका दिनहरुमा त्यति सान्दर्भिक नभए पनि ‘हाम्रा विचार तथा सिद्धान्तहरु बाह्य परिस्थितिअनुकूल हुनुपर्दछ’ भन्ने मान्यतालाई अहिलेको सन्दर्भमा पनि महत्वपूर्ण पृष्ठभूमिको रुपमा स्वीकार गर्नुपर्ने नै हुन्छ ।

Loading...