टेलिकमको एडिएसएलमा लगानी धेरै प्रगति सुस्त

काठमाडौं, २६ असाेज । पाँच वर्षअघि (२०७०) को तथ्यांकमा एडीएसएल प्रयोगकर्ताको संख्या एक लाख १६ हजार हाराहारीमा थियो। त्यसयता एडीएसएलले पाएको नयाँ प्रयोगकर्ता ९० हजार मात्रै हो। प्राधिकरणले भर्खरै सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा एडीएसल प्रयोगकर्ताको संख्या जम्मा दुई लाख पाँच हजार छ।

पछिल्लो समय उदायको प्रविधि फाइबर टू दी होम (एफटीटीएच) आधारित रहेर इन्टरनेट प्रयोगकर्ता उल्लेख्य बढेका छन्। २०७० सालमा ६० हजार पाँच सय ग्राहक संख्या रहेका फाइबर प्रयोगकर्ता चार लाख १७ हजार आठ सयभन्दा बढी पुगेका छन्। फाइबर ग्राहक पाँच वर्षमा झन्डै ६ गुणाले बढेका छन्। तर, सोही अवधिमा एडीएसएल ग्राहक संख्या भने ७० प्रतिशतले वृद्धि भएको देखिन्छ। एडीएसएलको यो विकासक्रममा पनि धेरै उतारचढाब आएका छन्।

२०७० मा एक लाख १६ हजार ग्राहक रहेको एडीएसलको २०७१ सालमा एक प्रतिशतभन्दा बढीले घटेको छ। त्यसपछिका वर्षमा विस्तारै उकालो लागे पनि विकास भने सुस्त भएको देखिन्छ। अर्थिक वर्ष ०७१/७२ मा ३१ प्रतिशतले वृद्धि भएको एडीएसएल ग्राहक संख्या आव ०७२/७३ मा भने १९ प्रतिशतले मात्र वृद्धि भएका छन्। त्यसपछिका वर्षमा ३.१४ र ११.१५ प्रतिशतले वार्षिक ग्राहक संख्या वृद्धि भएको तथ्यांकले देखाएको छ।

विकास क्रम सुस्त भए पनि नेपाल टेलिकमले भने यसलाई अझै मुख्य प्रोडक्ट भएको बताउँदै आएको छ। ‘एडीएसएल सेवा नेपाल टेलिकमको मुख्य प्रोडक्ट हो’, टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले भने, ‘टेलिफोन, मोबाइल इन्टरनरेट झैं एडीएसएल पनि कम्पनीको महत्वपूर्ण पाटो हो। यसलाई प्राथामिकताका साथ विस्तार गर्ने काम भइरहेको छ।’ उनले थपे, ‘यसको विकासका लागि टेलिकमले पछिल्ला वर्षमा धेरै काम गरिरहेको छ। नयाँ प्रविधिसमेत भित्र्याएको छ।’

एडीएसएल विकसित भई एडीएसएल-२ प्लस आएको छ। यो २४ एमबीपीएस क्षमताको हुन्छ। यसबाट इन्टरनेटको गुणस्तर बढ्छ। उनले भने, ‘वितरणको पोइन्ट दूरी पनि विस्तारै कम गर्दै आएका छौं, यसले गुणस्तरमा वृद्धि गरेको छ।’

अधिकारीले सुरुमा एक सय २८ केभीपीएस गति प्रदान गर्दै आएको एडीएसएल प्रयोगकर्तालाई अहिले पाँच एमबीपीएस स्पिड क्षमता प्रदान गरिरहेको बताए। सरकारको ब्रोडब्यान्ड नीतिको पहिलो लक्ष्य सहरी क्षेत्रमा १० एमबीपीएस गतिको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउनेछ। तर, नेपाल टेलिकम फिक्स ब्रोडब्यान्ड एडीएसएलमार्फत बल्ल पाँच एमबीपीएसमा उक्लिएको छ।
यही विषयमा टेलिकम क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले केही समयअघि इन्टरनेट सेवा प्रदायकले आक्रामक फाइबर सेवा विस्तार गरिरहँदा टेलिकम भने पुरानै गतिमा तामाको तार च्यापेर हिँडिरहेको बताएका थिए। नियामक निकाय ब्रोडब्यान्ड विस्तारमा लागिपर्दा टेलिकम भने एडीएसएलमै आकर्षित भएको भन्दै उनले आलोचना गरेका थिए। हुन पनि २०७४ साउनसम्म दुई लाख १८ हजार दुई सय ४९ रहेको एफटीटीएच ग्राहक संख्या बढेर चार लाख १७ हजार आठ सय पुगेको छ।

यो गत वर्षको तुलानामा ९१ प्रतिशत वृद्धि हो। प्रतिशतका आधारमा एक वर्षको अवधिमा इन्टरनेटको कुनै पनि क्षेत्रमा भएको यो ठूलो वृद्धि भएको इन्टरनेट सेवा प्रदायक कम्पनीको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइसपान) का पूर्वअध्यक्ष विनय बोहोरा बताउँछन्। उनका अनुसार पछिल्लो एक वर्षमा एक लाख ७२ हजार चार सय पाँच जडान भएकामध्ये एक लाख ६९ हजार एक सय नौ फाइबरमा आधारित छ।

आइसपानका अध्यक्षले दिलीप अग्रवालले काठमाडौंमा आयोजित दक्षिण एसियाली दूरसञ्चारको कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा नेपालको फिक्स ब्रोडब्यान्डमध्ये ४३ प्रतिशत जडान फाइबरबाटै भएको उल्लेख गरिएको थियो। यो सबैभन्दा बढी भएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ। त्यसमा नेपाल टेलिकमले प्रदान गर्दै आएको वाइम्याक्स र एनडीसीएलको तथ्यांक जोड्ने हो भने इन्टरनेट सर्भिस प्रोभाइडरले जडान गरेको ब्रोडब्यान्डको ७० प्रतिशत एफटीटीएचमा आधारित रहेको पाइन्छ।

यसरी फाइबरको विस्तार हुँदासमेत टेलिकमले फाइबारलाई प्राथामिकता दिन नसकेको स्वीकार्छन् टेलिकमका सहप्रवक्ता अधिकारी। ‘अबको युग फाइबर हो, त्यो टेलिकमले बुझेको छ’, अधिकारी भन्छन्, ‘त्यसैका आधारमा हामीले फाइबर विस्तारको काम पनि गरिरहेका छौं।’ सोचेअनुरूप फाइबरमा आधारित इन्टरनेट विस्तार नभएको भन्दै उनी भन्छन्, ‘यसमा काम भइरहेको छ, अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय हुनेछ।’

टेलिकमको एडीएसएलमा लगानी कति सार्थक भन्ने प्रश्नमा दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल भन्छन्, ‘यो विकल्प नहुदाँको प्रतिफल हो, अहिले टेलिकमसँग फिक्स ब्रान्डब्याडमा अर्को विकल्प छैन। चार-पाँच वर्षअघि सुरु फाइबर विस्तार गर्न टेलिकमले सकेको छैन। फिक्स ब्रोडब्यान्ड लिएर ग्राहकमाझ जाने अर्को विकल्प नभएकाले पनि टेलिकमले पुरानै प्रविधिमा लगानी गरिरहेको खनाल बताउँछन्।

Loading...