भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा सुरु

काठमाडौँ । सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको सुरुवात गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो ।

अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिए । ओपिडी सेवा बिहान ९ देखि ५ बजेसम्म हुने उनले बताए ।

थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न भौतिक संरचना गर्न करीब ५७० रोपनी जमीन उपलब्ध गराएको थियो ।

निर्देशक प्रा.डा. बस्नेतले भने, “ओपिडी सेवा प्रदान गर्न एक जना मेडिकल अफिसर, नर्स, अहेबसहित आवश्यक कर्मचारी व्यवस्था गरेको छौँ । आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकले सेवा दिनुहुन्छ । आवश्यकताअनुसार उपकरणको व्यवस्था गर्दछौँ ।”

पछिल्लो समय स्वास्थ्य मन्त्रालले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिँदै आएको छ । सो स्थानमा भौतिक संरचनालगायत कामको सुरुवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार ३० करोड विनियोजनसमेत गरेको छ ।

वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० सम्मको श्ययाको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायत पूर्वाधार तयार गर्दैछ ।

साथै सरकारीस्तरमा पहिलो पटक हेलिप्याडको सुविधासमेत रहने निर्देशक प्रा.डा. बस्नेतले जानकारी दिए । मन्त्रालयले आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने अति महत्वकाङ्क्षी योजना बनाएको छ ।

Loading...