आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित

काठमाडौँ । 

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दै ९ विकेट गुमाएको थियो । जितबाट नेपाल १ विकेट टाढा हुँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल सम्भव नहुँदा नेपाल डिएल मेथडमा विजयी भएको हो ।

नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । उनले आठौं ओभरमा ३ विकेट लिएका थिए । उनले ३ ओभरमा १ मेडनसहित ८ रन मात्र खर्चिए । करण केसीले पनि नवौं ओभरको चौथो र पाँचौ बलमा विकेट लिएका थिए । उनले १.५ ओभर बलिङ गर्दै ३ विकेट लिए । ललित राजवंशीले १ विकेट हात पारे ।

त्यसअघि मलेसियाको बायुमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो । नेपालका लागि करण केसीले नटआउट ४० रन जोडे । उनले १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । सोमपाल कामी ४ रनमा नटआउट रहे ।

३४ रन जोडेका शरद भेषवाकरले २८ बलमा २ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले २६ बलमा ३० रन जोडे । उनले ३ चौका प्रहार गरे । आरिफ शेख ८ र कप्तान पारस खड्का ५ रनमै आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रनमै आउट भएका थिए ।

ओपनर अनिलकुमार साहले २५ रन जोडे । उनले १७ बलमा ५ चौका प्रहार गरे । अर्का ओपरन विनोद भण्डारीले १८ बलमा २ चौका र १ छक्काको मद्दतले १५ रन बटुले । ब्याटिङ र बलिङमा योगदान दिएका करण केसी म्यान अफ दि म्याच भए।

यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा आयोजक मलेसियालाई समान ८–८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ । १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

२०७५ असोज २१ मा प्रकाशित ।

Loading...