दुर्गममा उडान भर्न चर्को नाफा खोज्ने एयरलाइन्सलार्इ रोक लगाउने हुम्लाको एक गाउँपालिकाको निर्णय

हुम्ला, १९ असाेज । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न सुरु गरेका छन् ।

एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दसैँ तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ ।

निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दसैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ ।

हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौँतारिरहेका छन् ।

कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थितिमा सोे निर्णय गरेको हो ।

Loading...