निर्मला हत्या प्रकरणः प्रतिवेदन बुझ्दै गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गरिने बताएका छन् । निर्मला हत्याकाण्डमा सरकार गम्भीर रहेको पनि गृहमन्त्री थापाको भनाइ थियो ।

घटनाको अनुसन्धानमा देखिएको प्रहरी कमजोरी, विभिन्न व्यक्तिको बयान प्रतिवेदनमा उल्लेख गरिएको समितिका सदस्य वीरेन्द्र केसीले बताए । ‘देखिएका सबै कुरा उल्लेख भएका छन् । प्रहरीका विषयदेखि अन्य विभिन्न विषय छन् । सीसीटिभीका कुरा पनि छन्, सबै कुरा नभनौं,’ केसीले भने ।

समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

Loading...