बढे बाघ, बाँके राष्ट्रिय निकुञ्जमा मात्र पुगे २१ बाघ

काेहलपुर । बाँकेमा बाघको संख्या बढेको छ। गत पुसमा गरिएको गणना अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ वटा पुगेको हो।

तीन महिना लगाएर गरिएको गणनाको रिपोर्ट आइतबार सार्वजनिक गरिएको छ। पाँच वर्षअघि सन् २०१३ मा गणना गर्दा बाँकेमा चार वटा बाघ थिए।

बासस्थान एवं बाघको संख्या बढाउनका लागि २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाँकेमा छिट्टै बाघको संख्या बढेको सम्बद्धहरु बताउँछन्।

एउटा भाले बाघलाई ५६ देखि ६२ वर्गकिलोमिटर र पोथी बाघलाई २६ वर्गकिलोमिटर ‘टेरिटोरी’ चाहिन्छ। बाँकेमा बाघका लागि पर्याप्त बासस्थान र आहरा छन् । बाँके निकुञ्ज मध्यवर्तीसहित ८ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ।

एउटा बाघले हप्तामा एउटा चित्तल खान्छ । ३० देखि ३५ किलोको एउटा चित्तल खाएपछि बाघलाई हप्ता दिन पुग्छ । निकुञ्जले सर्वेक्षण नै नगरेपनि चित्तल, बँदेल, चौका, निलगाई, चौका बाँकेमा पर्याप्त छन्।

सरकारले सन् २०१० मा १२ वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सन् २०१० मा एक सय २१ वटा रहेको बाघलाई सन् २०२२ मा दोब्बर बनाउने प्रतिबद्धता थियो। कोहलपुर सेक्टर प्रमुख चौधरीका अनुसार, सरकारले सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दुई सय पचास वटा बनाउने प्रतिबद्धता गरेको थियो।

बाघ दिवसको दिन संख्या सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिममा अवस्थामा निकुञ्ज पछि हटेको थियो । नेपालमा अहिले २ सय ३५ वटा बाघ रहेका छन् । चितवनमा ९३, बर्दियामा ८७, शुक्लाफाँटामा १६ र पर्सामा १८ वटा बाघ रहेका छन्।

बाँके राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले नियमित अनुगमन गर्दा नै बाँकेमा बाघको संख्या बढ्ने थाहा भइसकेको बताए । निकुञ्जले यसअघि अनुगमनका क्रममा देखिएको भन्दै बाँकेमा १२ वटा बाघ रहेको बताएको थियो। त्यसमा दुई वटा बाघ चाहि बाँके र बर्दिया दुवैतिर देखिएको थियो ।

राम्रो सुरक्षा व्यवस्था, स्थानीयवासीको सहयोग, बर्दियासँग सीमाना जोडिनु, आहाराजन्य जनावर पर्याप्त रहनुलगायत कारणले बाँकेमा छिट्टै बाघको संख्या बढेको कोहलपुर सेक्टरका प्रमुख चौधरीले बताए।

बाघको संख्या बढेसँगै बाँकेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने निकुञ्जले आशा गरेको छ। ‘धेरै मेहनत नगरेरै एकैछिनमा बाघ देखिने भएपछि त पर्यटक आइहाल्छन् नि? पर्यटकलाई जंगल सफारी गराउन सुरु गरिसकेको बाँके निकुञ्जका कोहलपुर सेक्टरका प्रमुख चौधरीले भने, बाँके बाँकेको लागि उचित बासस्थान हो भन्ने सरकारी बुझाई सत्य सावित भएको छ।’

Loading...