विहानैबाट उपत्यका ठप्प, नेकपा कार्यकर्ताले बन्दमा अपनाए यस्तो नयाँशैली

काठमाडौ । 

नेपाल कम्युनिस्ट पार्टीले आज (आइतबार) उपत्यका बन्दका कारण विहानैबाट राजधानीको जनजीवन प्रभावित भएको छ ।

आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । ललितपुरको च्यासल, काठमाडौँको मनमैजु, धोवीघाटमा ट्याक्सीलाई सम्झाएर छोडिएको बताइएको छ । ट्याक्सी चालकले आफूलाई जानकारी बनाएकै कारण चलाएको भनेपछि सम्झाएर पठाएको नेकपाका एक कार्यकर्ताले बताए ।

त्यसैगरी काठमाडौँका सडकमा विहानैबाट गुड्ने स्कूल बसहरु पनि बन्द छन् । यसले आज विद्यालय पनि बन्द हुने देखिन्छ । अाज प्रयोग भएको शैलीलाई हेर्दा अाजको बन्द विगतका बन्दभन्दा फरक हुने बताइएको छ । बल प्रयोग नहुने तर समर्थन हुने र बन्द सफल हुने बताइएको छ ।

आफ्नो नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपाल उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको थियो ।

नेकपाका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको भन्दै विरोधमा अाज एक दिन उपत्यका बन्दको घोषणा गरेका थिए ।

इन्चार्ज प्रज्जवले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाईको लागि बन्दको घोषणा गरिएको बताएका छन् । उनले नेताहरुलाई अदालतले रिहाईको अदेश हुँदा समेत पटक–पटक गिरफ्तारी गरी झुटा मुद्दामा जिल्ला घुमाउने काम गरिरहेको घोर विरोध तथा भत्र्सना गरेका छन् ।

“ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।

इन्चार्ज प्रज्वलले उपत्यका बन्द सफल बनाउन आम जनसमुदायसँग अनुरोध गरेका छन् । त्यसैरी निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदासमेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

Loading...