तान्जानियामा भयानक फेरी दुर्घटना, ४२ जनाको मृत्यु, ३२ को अवस्था चिन्ताजनक

काठमाडौं ।

तान्जानियाको भिक्टोरिया तालमा भएकाे फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने कैयन हराइरहेका छन् ।

तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ ।

बिहीबार उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको फेरीमा झण्डै ४ सय जना रहेको र झण्डै २ सय जना यात्रु डुबेको आशंका गरिएको छ । तर अहिलेसम्म यकिन संख्या खुलिनसकेको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै इनडिपेन्डेन्टले लेखेको छ ।

मुगोरारा र उकाला टापुको यात्रामा निस्केको फेरीको क्षमता १ सय जनाको मात्रै भए पनि क्षमताभन्दा निकै बढी यात्रुहरु चढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तान्जानियाको इलेक्ट्रिकल, मेकानिकल एण्ड इलेक्ट्रिोनिक्स सर्भिस एजेन्सी (टीईएमईएसए) ले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको बताएको छ । तर हराइरहेका ठूलो संख्याको उद्धार हुन सकिरहेको छैन । लामो समय नदीमा डुबेकाले उनीहरुको जीवितै उद्धार हुने सम्भावना क्षीण छ ।

दुर्घटनास्थल तान्जानियाको दोस्रो ठूलो शहर मवानजा नजिकै पर्छ । भिक्टोरिया तालमा फेरी दुर्घटना भएको यो पहिलो घटना भने होइन । आजभन्दा २२ वर्षअघि सन् १९९६ मा भएको फेरी दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएमा थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पछिल्लो दुर्घटनालाई त्यसपछिको भयानक भनेका छन् ।

२०७५ असोज ५ मा प्रकाशित ।

Loading...