पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

सर्लाही । 

पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरलेलाई ज्ञापनपत्र बुझाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

घटनाको विषयमा आफूले भोलिपल्टै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र एसपी कोषराज पोखरेललाई जानकारी गराए पनि प्रहरी रमिते बनेको र प्रशासनले वडाध्यक्ष साहमाथि कुनै कारबाही नगरेको भन्दै बाध्य भएर दलित संघर्ष समितिलाई गुहार्नुपरेको रामको भनाइ छ ।

अछूत भन्दै दुर्व्यवहार गर्ने वडाध्यक्षलाई प्रहरी प्रशासनले कारबाही गर्नेतर्फ कुनै चासो नदेखाएपछि पीडित रामले दलित संघर्ष समिति र नेकपाका नेतालाई गुहारेका छन् ।

दलित संघर्ष समितिका पदाधिकारीसँगै नेकपाका केन्द्रीय सदस्यद्वय अच्युतम काफ्ले र डाचाराज वाग्ले, नेता कमल बुढाथोकीसहितका नेता जिल्ला प्रशासन कार्यालयमा गएपछि मात्र प्रजिअ पोखरेलले ज्ञापनपत्र बुझेका हुन् ।

प्रजिअ पोखरेलले दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको संयोजक पासवानले बताए । ‘सार्वजनिक स्थलमा छुवाछूतको व्यवहार गर्दै दलित युवालाई कुटपिट गर्ने वडाध्यक्ष साहलाई कानुनअनुसार कारबाही नभए कडा संघर्षमा उत्रन बाध्य हुनेछौँ,’ उनले भने ।

वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई ‘दलित भएर पानी छुने’ भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए ।

घटनाको भोलिपल्ट पीडित युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेपछि दलित संघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । मंगलबार संघर्ष समितिको नेतृत्वमा प्रतिनिधिमण्डल गएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक राधेश्याम पासवानले बताए ।

पीडित अजय चार वर्षीय छोराको पोषण भत्ता लिन वडा कार्यालयमा जाँदा दुव्र्यवहार भएको हो । ‘कार्यालय सहयोगी रामेश्वर चौधरीले वडाध्यक्षको टेबुलमा पानीको जग ल्याएर राखे,’ रामले भने, ‘म त्यहीँ थिएँ, तिर्खा लागेको थियो । जगको पानी उठाएर खान खोज्दा ममाथि वडाध्यक्ष साहले चमार भएर पानी छुने भन्दै एक्कासि कुटपिट गरे । त्यसपछि घाँटीमा समाएर गलहत्याउँदै कार्यालयबाट बाहिर निकाले ।’ वडाध्यक्ष साह संघीय समाजवादी फोरमबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

फाइल तस्वीर: गुगलबाट

Loading...