दक्षिण कोरियामा लाखौ मानिसहरु विश्वशान्तिको कामना गर्दै उर्लिए

इन्चोन, २ असोज । कोरियन प्रायदिपमा शान्तिको आशा छर्दै दक्षिण र उत्तर कोरियाका राष्ट्रप्रमुखले उत्तरकोरियाको राजधानी प्योङयाङमा हात मिलाइरह दक्षिण कोरियाको इन्चोन सहरमा विश्व शान्तिको घोषणा गर्दै लाखौ मानिसहरु जम्मा भएका छन् । दुई लाखभन्दा बढी मानिसहरुले कोरियन प्रायदिपका बीच शान्तिपूर्ण एकिकरण, विश्व शान्तिको घोषणा र युद्धको अन्तको माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

इन्चोन सहरको एसियाड रंगशालामा लाखौ कोरियन युवाहरुले विश्वका विभिन्न देशबाट आएका अतिथिहरुलाई हर्षोल्लासका साथ स्वागत गर्दै विश्व शान्तिका पक्षमा आफ्नो गहिरो भावना पोखेका थिए ।

विश्वशान्तिका लागि लामो समयदेखि काम गर्दै आएको दक्षिण कोरियाली संस्था एचडब्ल्युपिएलले विश्वका विभिन्न देशका पूर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रोफेसर, कानुन व्यवसायी, विभिन्न धर्मका अगुवाहरुको उपस्थितिमा यो विश्वशान्तिको उत्सव मनाएको हो । दक्षिण कोरियाको विकसित सहर मानिने इन्चोनको एसियाड रंगशालामा एचडब्लुपिएलले आयोजना गरेको वल्र्ड पिस समिट सो संस्थाका अध्यक्ष मान ही ली, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्रीहरुले विश्व शान्तिको घोषणा र युद्धको अन्त्यको आवश्यकतामाथि आफ्ना धारणा राखे ।

सो क्रममा अत्याधुनिक प्रविधिको प्रयोग गरेर कलात्मक सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए । ठूलो संख्यामा कोरियन वारका भेट्रानहरुको समेत सहभागिता रहेको सो समिटमा कोरियाको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिलाई विश्वशान्तिको मागसँग जोडेर प्रस्तुत गरिएको थियो । युद्धका असरले मानव जीवनमा पार्ने असर र शान्तिको आवश्यकतामाथि जोड दिँदै तयार गरिएका विभिन्न सांस्कृतिक झाँकीहरु समिटका विशेष आकर्षण रहेका थिए । बालबालिकाको सुन्दर संसार, उनीहरुको भविष्य र रंगीन विश्वलाई विभिन्न विम्व र प्रतिक बनाएर झाँकीहरुमा कलात्मक तरिकाले समेटिएको थियो । अत्यन्तै उत्साहित युवाहरुले खचाखच भरिएको एसियाड रंगशालामा प्रस्तुत गरिएका यी झाँकीहरु विश्वकप, ओलम्पिक तथा कुनै देशको स्वतन्त्रता दिवस जस्तै लाग्दथ्यो । सबै धर्म, जाति, विचारलाई उत्तिकै सम्मान गर्नुपर्ने र त्यो मानिसको स्वतन्त्रता भएको कुरामा जोड दिँदै धार्मिक सहिष्णुता तथा वैश्विक विविधतालाई पनि झाँकीले जोड दिएको थियो । समिटमा विश्वका विभिन्न धर्मका धर्मगुरुहरु पनि आआफ्नो भेषभुषा र पहिचानसहित उपस्थित भएका थिए । विश्वका सबै मानिसहरु एक भएको र सबै मानव जाति एक हुनुपर्ने कुरालाई दर्शाउन सुन्दर एचडब्लुपिएलले वी आर वान भन्ने नारालाई पनि विभिन्न प्रविधि प्रयोग गरेर झाँकीमा प्रस्तुत गरिएको थियो । साथै मानिसको सत्य कथा वा वास्तविक जीवन समेटने कथा, एचडब्लुपिएलका अध्यक्ष लीले विकसित गरेको र अन्तराष्ट्रिय ल कमिटिले १० धारा र ३८ उपधारामा तयार पारेको डीपीसीडब्लुको अवधारणालाई पनि कलात्मक तरिकाले प्रस्तुत गरिएको थियो ।

विश्वभर एकैसाथ एकै समयमा शान्तिको कामना

एचडब्लुपिएलले इन्चोनको एसियाड रंगशालामा मुख्य कार्यक्रम गरिरहँदा एउटै समयमा कोरियाका विभिन्न सहर तथा विश्वका विभिन्न देशमा मानिसहरु जम्मा भएर शान्तिको कामना गरिएको थियो । एसियाड रंगशालामा विश्वभर गरिएका प्रदर्शन तथा कार्यक्रमको प्रत्यक्ष प्रशारणलाई पनि देखाइएको थियो । एसियाड रंगशालामा दक्षिण कोरियाको राजधानी सोल र इन्चोन सहरका वरिपरिबाट मानिसहरु जम्मा भएका थिए भने दक्षिण कोरियाका आधादर्जन भन्दा बढी अन्य सहरमा पनि त्यतिकै उत्साह र उमंगका साथ मानिसहरु जम्मा भएर विश्व शान्तिको कामना गरेका थिए । त्यसैगरी युरोपका विभिन्न देशहरु, स्वीटजरल्याण्ड, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, इन्डोनेसिया, कम्वोडिया, मंगोलिया, सिंगापुर, अमेरिकाको लस एन्जल्स, वासिङटन डिसी, सिकागो, जापानको टोकियो, मलेसिया, श्रीलंका लगायतका देश र ठूला सहरमा पनि एकैसाथ एकै समयमा यो समिट मनाइएको थियो ।

समिटलाई एचडब्लुपिएलका अध्यक्ष ली, इन्टरनेशनल पीस युथ ग्रुप (आइपीवाइजी)का प्रमुख, विश्वका ३.७ विलियन महिलाहरु सदस्य रहेकाे इन्टरनेशनल वुमन पीस ग्रुप (आईडब्लुपीजी), एचडब्लुपीएलका महासचिवसहित विश्वका पाँच वटा देशका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीले समिटलाई सम्वोधन गरेका थिए ।

समिटलाई सम्वोधन गर्दै एचडब्लुपीएलका अध्यक्ष ली ले अब युद्धहरुको अन्त्य गर्नुपर्ने र विश्व शान्तिको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि पीस एजुकेशनको अवधारणा समेत प्रस्तुत गरे । हरेक मानिस शान्तिको दूत बन्न सक्ने बताउँदै यो सुन्दर विश्वमा अब मानवीयताको विकास गरेर मात्र मानव जातिको उन्नति र समृद्धि सम्भव हुने बताए ।

त्यसैगरी रोमानिया, युक्रेन, बोस्नीया हर्जगोभिना, गुयना, मंगोलिया, किर्गिजस्तानका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीहरुले पनि एचडब्लुपीएलले विकास गरेको डीपीसीडब्लु नामक शान्तिको घोषणा र युद्धको अन्त्यको अवधारणामाथि प्रकाश पारे । विश्वका २९ जना कानुनका विज्ञहरुले तयार पारेको डीपीसीडब्लुलाई संयुक्त राष्ट्र संघले अपनाएर यसको कार्यान्वयनमा लाग्नुपर्नेमा पनि उनीहरुले जोड दिए । साथै काेरियन प्रायदिपमा शान्तिपूर्ण एकिकरण हुने कुरामा पनि उनीहरुले विविध तर्कका साथ अाफ्ना र शुभकामना अाशा व्यक्त गरे । 

 

 

Loading...