उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत

बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् ।

भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र रजिष्टार थापाबीच असमझदारीको स्थिति सृजना भए लगत्तै थापाले राजीनामा दिएर बाहिरिएका हुन ।

कानून संकायका डीन डा.विपिन अधिकारीलार्इ प्रोफेसरमा बढुवा गर्ने बिषयमा दुर्इ जनाबीच बाझाबाझ भएकाे थियाे । रजिष्टार.थापाले अधिकारीलार्इ प्राेफेसरमा बढुवा गर्न प्रस्ताव अघि सारेका थिए । उक्त प्रस्ताव अाएपछि उपकुलपति माकजुले प्रकृया पूरा नभएकाे भन्दै अापत्ती जनाएका थिए । त्यसपछि उनीहरुबीच असहज स्थिति नै पैदा भएकाे स्राेतले जनाएकाे छ । कानून संकायको डीनका लागि आवेदन खुल्ला गरिएकोमा डा.विपिनको मात्र परेको र उनलाई नै उक्त पदमा नियुक्त गर्न प्रकृया नपुगेको भनी रोकिएको थियो ।

डा.माकजुले उपकुलपतिको दोस्रो कार्यकाल सम्हालेका हुन भने रजिष्टार थापा पनि दोस्रो कार्यकालका लागि एकबर्ष अघि उपकुलपति डा. माकजूकै सिफारिसमा रजिष्टार नियुक्त भएका थिए । पछिल्लो समय देखा परेको भनाभनको स्थिति पूर्व योजना अनुरुप नभै तत्कालीन भएको स्रोतको दाबी छ ।

डा.थापाले दिएको राजीनामा स्वीकृतिका लागि प्रकृयामा अघि बढाउन ७ गते नै कुलपति तथा प्रधानमन्त्री समक्ष पेश गरिएको थियो । बिमस्टेक सम्मेलनका कारण राजीनामा स्वीकृतिमा ढिलाई भएको स्रोतले जनाएको छ । राजीनामा दिएपछि स्वीकृति हुने पक्का भएकाले डा. थापाले पनि आफुले राजीनामा दिए लगत्तै काठमाडौ विश्वविद्यालय कार्यकारी परिषद्मा रहेका सबै पदाधिकारीहरुलाई आफु रजिष्टार रहुन्जेल सहयोग पुर्याएकोमा इमेल मार्फत धन्यवाद दिएका थिए । यस बीचमा डा.थापा केयूमा आएर पनि आफ्नो राजीनामा स्वीकृत नभए सम्म आफुले सम्हाल्दै आएका जिम्मेवारी सम्हालेको स्रोतले जनाएको छ ।

नयाँ रजिष्टार ल्याउने सन्दर्भमा विश्वविद्यालय भित्रैका सिनियर डीनबाट छनोट गर्न आन्तरिक छलफल शुरु भैसकेको बुझिएको छ । यसै बिषयमा छलफलका लागि उपकुलपति र कुलपतिको छिट्टै नै भेटघाटको समय तय भैसकेको पनि स्रोतले जनाएको छ ।

Loading...