श्रमजीवी हीत प्रबर्द्धन समितिद्वारा न्युनतम पारिश्रमिक समितिका अध्यक्षकाे कार्यकक्ष घेराउ

काठमाडौं ।

सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ ।

अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना तथा घेराउ गरेको हो । घेराउमा समितिका सहसंयोजक जन्मदेव जैसी, सदस्यहरु यम विरही, टीकाराम प्रधान, टेकराज थानीलवगायतका श्रमजीवी पत्रकारहरु संलग्न थिए ।

सो अवसरमा संयोजक दाहालले असोज १ गतेदेखि नै लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुनुपर्ने, तहगत वर्गीकरण समेत गरी सबै तहको न्यूनतम पारिश्रमिक निर्धारण गर्नु पर्ने, पाँच वर्ष भन्दा बढी स्ट्रिन्जरका रुपमा नियमित काम गरेको राष्ट्रिय सञ्चारमाध्यमका श्रमजीवीहरुलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनु पर्ने र महिना समाप्त भएको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको व्यवस्था गर्नुपर्ने मागहरु पुनः स्मरण गराएका थिए ।

जवाफमा अध्यक्ष पराजुलीले पारिश्रमिक वृद्धिका लागि गठित कार्यदलले आजै समितिलाई प्रतिवेदन बुझाएकाले सोमबार बस्ने समितिको पूर्ण बैठकले महासंघको माग सम्बोधन हुने गरी निर्णय लिने जानकारी दिए । उनले यस पटक सञ्चारमाध्यमलाई राष्ट्रिय, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरी त्यसभित्र पनि तीन वटा मापदण्ड बनाएर पारिश्रमिक वृद्धिको सिफारिस गरिने जानकारी दिए । उनले श्रमजीवी पत्रकारले सम्मानजनक पारिश्रमिक प्राप्त गर्नुपर्नेप्रति समिति गम्भीर रहेको पनि बताए ।

समितिका सहसंयोजक जन्मदेव जैसीले न्यूनतम पारिश्रमिक निर्धारण समितिले गर्ने निर्णय हेरेर थप कदम चालिने जानकारी दिँदै पहिलो चरणको दबाबमूलक आन्दोलन स्वरुप मंगलबारका लागि तय गरिएको समितिको मूल गेटमा कालोब्यानर झुण्डाउने कार्यक्रम नरोकिने जानकारी गराए ।

२०७५ भदौ २४ मा प्रकाशित ।

Loading...