मलेसियाद्वारा कामदारको न्युनतम पारिश्रमिक वृद्धि

काठमाडौं ।

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् । यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।

हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरूका लागि ९२० रिंगिट कायम छ ।

वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगिट पुर्‍याइने उल्लेख गरिएको थियो । तर उक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिएभन्दा निकै कम रकममात्र वृद्धि गरिएको हो ।

२०७५ भदौ २२ मा प्रकाशित ।

Loading...