एशिया कप छनौटमा नेपाल पहिलो जीत हात पार्न सफल

काठमाडौं ।

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिएपछि मलेसिया पराजित बन्न पुग्यो ।

मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वाधिक ३४ रनको योदान दिए भने अहमद फैज मोहमद नुरले र जगजित सिंह क्रमशः २२ तथा २१ रन बनाए ।

यसअघि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले एशिया कप छनौट अन्तरगत तेस्रो खेलमा मलेसियासामु १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनायो ।

वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो ।

त्यसपछि ऐरी र शेखले मात्र ८८ बल १०१ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाए ।सयजरुल एजात इद्रुसको बलमा आउट हुन अघि ऐरीले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतले ५४ रन बनाए ।

शेखले नटआउट रहँदै मात्र ४८ बलमा ६४ रन बनाए । यस क्रममा उनले २ छक्का र ५ चौका हाने । नेपालका लागि ओपनर अनिल कुमार साहले १६, पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

मलेसियाका लागि इद्रुसले ३ तथा शारविन मुनियान्डीले ३–३ विकेट लिए । यसअघि, दुई खेल हारेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । अब नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ ।

Loading...