जाँदाजाँदै मोदीले पाए लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मोदीलाई छिटै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् ।

लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई बुद्धिष्ट सर्किटमा साथ र समर्थन दिन पनि आग्रह गरेका छन् । लुम्बिनी बुद्धधर्मको मुहान रहेको भन्दै उनले बुद्धिष्ट सर्किटमा भारतको समर्थनको आशा गरेको बताए ।

‘हामीले रामायण सर्किटको कुरा गर्‍यौं, बुद्धिष्ट सर्किटको कुरा गर्‍यौं, लुम्बिनी बुद्धिजमको र विश्व शान्तिको मुहान पनि हो । यसलाई हाम्रा मित्र राष्ट्रहरु खासगरी भारतबाट समर्थन र सहकार्य पाउनेछौं भन्ने विश्वास लिएको छु’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँको लुम्बिनी भ्रमण छिटै हुन्छ भन्ने विश्वासमा छु’ उनले भने ।

मोदीको अघिल्लो नेपाल भ्रमणको क्रममा जनकपुरमा संयुक्त पूजा गर्नुका साथै जनकपुरबाट रामायण सर्किटको सुरुवात गरेको स्मरण गर्दै ओलीले अब फेरि अर्को संयुक्त प्रसास अघि बढाउने प्रस्ताव गरे ।

‘महामहिम मोदीज्यू तपाईले अघिल्लो भ्रमणमा केही महत्वपूर्ण धार्मिक स्थलको पनि भ्रमण गर्नुभयो, जनकपुर र मुक्तिनाथ । यहाँसँगै जनकपुरमा मैले पनि साथै रहेर श्रद्धा अर्पण गरेको थिएँ । हामीले जनकपुरबाट बससेवा प्रारम्भ गर्‍यौं । रामायण सर्किटको कुरा गर्‍यौं’ उनले भने, ‘यसपछि हामी अर्को संयुक्त प्रयास अघि बढाउनेछौं ।’

बिमिस्टेक सम्मेलनका लागि नेपाल आएका अन्य राष्ट्रप्रमुखलाई ओलीले यस्तो निम्तो दिएनन् ।

Loading...