विमस्टेकको चौथो शिखर सम्मेलन आजबाट सुरु

काठमाडौँ, १४ भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अाजबाट सुरु हुने भएकाे छ ।

सम्मेलनका लागि प्रायः सबै देशका प्रमुख तथा प्रतिनिधि नेपाल आइपुगेका छन् । विदेश सचिव स्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तयार गरिसकेकाे बताइएकाे छ ।

सम्मेलनको अन्तिम तयारी स्वरुप बुधबार भएको विदेश मन्त्री स्तरीय बैठकले अन्तर्राष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बिमस्टेकको १६ औँ मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबिच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिएका छन् । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबिच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए । बैठकले काठमाडौँ घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताएका छन् । प्रधानमन्त्री केपी ओलीले बिहीबार बिमस्टेकको चौथो शिखर सम्मेलन उद्घाटन गर्नेछन् । शिखर सम्मेलन शुक्रबार काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिनेछ ।

बिमस्टेक यो क्षेत्रका राष्ट्रबिच आपसी सहयोग र सम्बन्ध बिस्तारका लागि स्थापित संगठन हो । यसमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड गरी सात सदस्य रहेका छन् । बिमस्टेकको स्थापना सन् १९९७ को जुन ६ मा भएको हो ।

यसको प्रधान कार्यालय बंगलादेशको राजधानी ढाकामा छ । दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका सात देशको उप–क्षेत्रीय समूह हो, जुनदेशहरु बंगालको खाडीको तटीय तथा आसन्न क्षेत्रमा रहेका छन् । यो समूहले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झण्डै साढे एक अर्ब मानिसको प्रतिनिधिमुलक संस्था हो । यसले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशबिच सम्बन्ध स्थापनाका लागि पुलको रुपमा काम गर्दै आएको छ ।

म्यानमार र थाइल्याण्ड यो समूहमा रहेका दक्षिण पूर्वी एसियाली देश हुन्, नेपालसहित बाँकी देश दक्षिण एसियाली हुन् । सार्कमा रहेका तर बिमस्टेकमा नरहेका देश पाकिस्तान र अफगानिस्तान हुन्। बिमस्टेकले मुख्य गरी १४ क्षेत्रमा आपसी सहयोग गर्ने उद्देश्य लिएको छ । यसमा प्रविधि, अपराध न्युनिकरण, कृषि, पर्यावरण, आतंकवाद नियन्त्रण तथा गरिबी नियन्त्रणसहितका क्षेत्र प्रमुख रहेका छन् ।

सदस्य राष्ट्रबिचमा प्राविधिक एवम् आर्थिक सहायता आदानप्रदान गर्ने उद्देश्यले स्थापित बिमस्टेकले व्यापार, उर्जा, पर्यटन, परिवहन र माछा उद्योगसँग सम्बन्धित सहयोग आदानप्रदान पनि गर्दै आएको छ । गएको चार वर्षदेखि बिमस्टेकको अध्यक्षता नेपालले गर्दै आएको छ । नेपालले बिमस्टेकमा गरिबी निवारण सम्बन्धी विषय हेर्दै आएको छ ।

अध्यक्ष देशले सम्मेलन आयोजना गर्ने नियम अनुसार यसपटकको चौथो बिमस्टेक सम्मेलन नेपालमा हुँदैछ । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो ।

Loading...