प्रचण्डले यस्तो घोषणा गरेपछि सबै दङ्ग

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका प्रचण्डलाई सम्मानको भोक भएका नेताको रुपमा लिइन्छ । सम्मान पाउने कार्यक्रम प्राथमिकतामा पर्छ भन्‍ने आरोपबीच प्रचण्डले सम्मान तथा पदक नलिने घोषणा गरेका छन् । 

त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो ।

प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने घोषणा गरेको जानकारी दिएको छ । साथै सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवाद समेत दिएका छन् । 

प्रचण्डले यस्ताे यस्तो घोषणा गरेसँगै उनका प्रतिस्पर्धीहरु चकित परेका छन् । यसअघि प्रचण्डले जस्तासुकैबाट सम्मान र पुरस्कार लिन लागेको भन्दै उनको पार्टी भित्र र बाहिर आलोचना भएको थियो ।

पार्टीभित्रका केही बुद्धिजीवीले अनावश्यक शब्द र प्रशंसाका भारी बोकाएर गर्ने सम्मान लिँदा त्यससँगै जोडिने अन्य कुराहरुबाट बच्नुपर्ने सुझाब दिएका थिए । पार्टीभित्रका बुद्धिजीवीहरुले बहस प्रारम्भ गरेपछि सुरुमा पुरस्कार लिन तयार देखिएका प्रचण्डले अन्तिममा आएर यसलाई नलिने घोषणा गरेका हुन् । 

यस्ताे छ प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोट

त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’द्वारा सम्मानित गर्ने समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो । तर, यसबारे पर्याप्त जानकारी लिएर मात्रै आवश्यक निर्णयमा पुग्नुपर्ने भएकाले सम्मान र पदक लिने वा नलिनेबारे अध्यक्ष क. प्रचण्ड र अध्यक्षको सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

बुधबार अध्यक्षको सचिवालयलाई जानकारी नै नदिई पार्टीका केही नेताहरुको पहलमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरुद्वारा अध्यक्ष क. प्रचण्डलाई भेटी भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको र विभिन्न मीडिया र सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो । तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाउनु भएको चासो एवं सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष क. प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिन्छ ।

यस सन्दर्भमा प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष क. प्रचण्डले खेल्नुभएको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न आग्रह गर्दै बेलैमा सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्नुभएकोमा सम्पूर्ण प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछौं, धन्यवाद ।

५ श्रावण, २०७४

Loading...