फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाखको क्षति

भक्तपुर, ५ साउन । भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रु १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

राति करिब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बारुणयन्त्र भक्तपुर र ललितपुरका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करिब २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

कारखानामा लागेको आगोका कारण सँगै रहेको विश्वराम प्रजापतिको घरमा समेत ग्याँस सिलिण्डर पड्केर सामान्य क्षति भएको छ ।

कारखानामा राति कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

Loading...