निर्मला हत्या प्रकरणः कंचनपुर तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड अश्रुग्याँस प्रहार

कञ्चनपुर ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ ।

प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि स्थानिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएको भीड नियन्त्रण गर्न भन्दै प्रहरीले ८ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीको अश्रुग्याँस प्रहारपछि प्रशासन कार्यालय अगाडिको भीड तितरवितर भएपनि प्रदर्शनकारी आक्रोशित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् । आन्दोलित सर्वसाधारणले सोमवार सदरमुकाम महेन्द्रनगर समेत बन्द गरेका छन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा विष्टलाई सोमवार सार्वजनिक गरेको थियो । प्रहरीले उनलाई सोमवारै जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दाबी छ ।

प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् । प्रहरीले राजनीतिक दबाबमा मुख्य अभियुक्त बचाउन खोजेको दाबी उनीहरुको छ ।

गत १० साउनमा साथी घरमा गएकी निर्मला एकाएक बेपत्ता भएकी थिइन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला परेको थियो ।लगत्तै, प्रहरीले अनुसन्धान थालेको थियो । तर, लामो समयसम्म कुनै सुराक हात नलागेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली कन्चनपुर पुगेको थियो ।

Loading...