पार्टी आरनबाट निस्किएको फलामजस्तो खरो भएको छ

विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

केही आँतमरेका अवसरवादीहरू, केही पैसा कमाउनका लागि समाचार बेच्ने सूचना बेचुवाहरू, केही प्रतिक्रियावादीहरूका चाटुकारहरू र केही आउँदो क्रान्तिबाट त्रसित दलालहरूले चुनाव खारेजबारे काल्पनिक, भ्रामक र हानिकारक सूचना छाप्ने र प्रचार गर्ने गरेको पाइयो । उनीहरूले खारेजीको समयमा चुनावका पक्षमा वकालत गरे, कारबाहीहरूलाई आतङ्कसँग जोड्न खोजे, चुनावपछि खारेज प्रभावकारी नभएको कुरा गरे । यतिबेला खारेजपछि निराशा आएको जस्ता प्रचार छप्न थालेको पइयो । यी सबै प्रचार क्रान्ति र क्रान्तिकारी धाराका बारेमा जनतामा भ्रम फैलाउने र प्रतिक्रियावादी सत्तालाई सेवा गर्ने घातक आसयसँग सम्बन्धित छन् । क्रान्तिकारीहरू यसखालको प्रचारबाट सतर्क हुँदै यस्ता प्रचारलाई धुजाधुजा पार्न तयार हुनुपर्छ ।

यो सत्य कसैबाट छिपेको छैन, हाम्रो पार्टी चुनाव खारेज अभियानमा सचेततापूर्वक हामफालेको थियो । यसको मुख्य उद्देश्य योजनाबद्ध रूपले प्रतिक्रान्ति र प्रतिक्रियावादी संसदीय व्यवस्थालाई सम्पूर्ण रूपले अस्वीकार गर्नु, त्यसको पुनस्र्थापनालाई खारेज गर्नु र नेपाली जनताको सुन्दर भविष्य वैज्ञानिक समाजवादी सत्ताबाट मात्र सम्भव छ भन्ने विचार र धार अगाडि बढाउनु थियो ।

यो हाम्रो निर्णय साम्राज्यवादी, पुँजीवादी दलालहरूका अनेकौँ दबाबमा परेर केही दिन छाला जोगाउन वा केही भौतिक सुखसुविधा भोग गर्न क्रान्ति बेचेर खाने दलालहरूको जस्तो नियन्त्रित नभएर सर्वहारावर्गीय र कम्युनिस्ट विचार र आदर्शहरूको झन्डा फहराउन आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै गरिएको निर्णय थियो । यो खारेज अभियानको महत्वतत्काल मात्र होइन दीर्घकालसम्म नेपाली क्रान्तिकारी आन्दोलनमा रहने स्पष्ट छ । गरेको खारेज अभियान केवल चुनावको खारेज र प्रचारसँग सम्बन्धित छैन ।

यसको सम्बन्ध समग्र नेपाली क्रान्तिको प्रक्रियासँग छ । यो विगतका कैयौँ बहिष्कारजस्तो होइन जो अगाडिको गन्तव्यबाट कटेको थियो । यो त्यस्तो खारेज हो जसको सम्बन्ध शान्तिकालमा संसद्वादी दलालहरूले दिएको धोका, जनयुद्धमाथि लादिएको प्रतिक्रान्ति, प्रतिक्रियावादी संसदीय व्यवस्था (गणतन्त्रसहितको संसदीय व्यवस्था) को पुनस्र्थापना, अवसरवादीहरूको आत्मसमर्पणविरुद्ध चलेको सङ्घर्ष र नेपाली क्रान्तिलाई निरन्तरतामा अगाडि बढाउन गरिएको पहलसँग सम्बन्धित छ । चुनावको खारेजी मात्र होइन, प्रतिक्रियावादी संसदीय व्यवस्थाकै खारेजीसँग सम्बन्धित छ । यो कुनै हुतिहारा श्रीमान्को फूर्तिजस्तो होइन जो स्वाभिमानी श्रीमतीका सामु चिसो पानी थाप्न तयार होस् । यो त्यस्तो चट्टानी विचारको अभिव्यक्ति हो जो पेरिसको वेलिभल पाखोमा एक चिहान हुँदा पनि मानवमुक्तिको महान् आदर्शलाई बचाउन अटल भएर उभिएको थियो । यसलाई त्यस्ता दुई कौडीका मान्छेले बुझ्न सम्भव छैन जो रत्नपार्कको भीडमा हरक्षण
आफूलाई कौडीको भाउमा बेच्न तयार छन् । जसको राजनीतिक चिन्तन कोठादेखि रत्नपार्कसम्म पनि टिक्न सक्दैन । हो, हाम्रो चुनाव खारेजबारे भ्रामक प्रचार गर्ने मान्छे त्यस्तै हुन् ।

चुनाव खारेज आतङ्क थिएन, त्यो क्रान्तिको एक कडी थियो । जनतालाई नेतृत्व दिन, जनतालाई अपिल गर्दै जनताको साथ र सहयोगमा आफ्नै सापेक्षतामा अगाडि बढाइएको अभियान थियो । यो कुनै देखावटी थिएन, राज्यलाई चुनौती खडा गर्दै र आफ्नो उद्देश्य प्रस्तुत गर्न सारिएको अभियान थियो । यसमा क्रान्तिकारीहरू जोस र साहसका साथ मोर्चामा डटे, कोही निच स्वार्थका लागि हामीसँग आएका थिए भने ती ढोडजस्तो लत्र्याकलुत्रुक पनि भए तर क्रान्तिमा घुँडा टेक्नेको हिसाब हँुदैन । अभियान हाँक्नेहरूको हिसाब हुन्छ । हाम्रो पार्टीपङ्क्ति पूरै दृढताका साथ अगाडि बढेको छ र आफ्नो उद्देश्य पूरा गर्न सफल भएको छ । सम्भवतः यहाँनेर क्रान्तिकारीहरूको विवेकलाई उत्तेजनाको लहडमा धकेलेर क्रान्तिलाई आतङ्कको चेपुवामा पार्ने दलाल र प्रतिक्रियावादीहरूको सोचाइले हावा खाएको छ ।

खारेज अभियानमा एकजना कमरेड र एकजना युवक दुईजनाको सहादत भयो । तीनजनालाई गोली लाग्यो र घाइते हुनुहुन्छ । सात सयभन्दा धेरै कमरेडहरू गिरफ्तार हुनुभयो । जेल जानुभयो । मुद्दा झेलिरहनुभएको छ । यातना खप्नुभएको छ । दसौँ लाख धरौटी परेको छ । तर पार्टी नेता, कार्यकर्ता, क्रान्तिकारी जनता दृढताका साथ अभियानमा डट्नुभयो र आज पनि सबै कमरेडहरू एक अठोटका साथ काममा सक्रिय हुनुहुन्छ । यो कुराले मात्र क्रान्ति गरिटोपल्ने कुनै स्वार्थी, निम्छरा तत्वहरूले गर्न सक्ने कुरा थिएन । यो अथक, निःस्वार्थ क्रान्तिमा बढ्न सक्ने योद्धाहरूले गर्न सक्ने प्रश्न हो ।

हामी जब जनतामा हेर्छौं दलाल संसद्वादी तत्वहरूका राष्ट्रघाती, जनघाती, भ्रष्टाचार, दलाली, सुदखोरी, तस्करी, कमिसनखोरी देखेर वाक्कदिक्क भएको र यसलाई समाप्त गर्ने विचार, सङ्घर्ष र नेतृत्वको खोजी गरिरहेको पाउँछौँ । आजको मितिमा त्यो आशा हाम्रो पार्टीवरिपरि केन्द्रित हुँदै गएको पनि स्पष्ट छ । धेरै बुद्धिजीवी, व्यवसायी, कर्मचारी, उद्योगी, किसान, मजदुर, श्रमिक वर्गले पार्टीलाई महत्वपूर्ण सुझाव दिने गर्नुभएको छ, पार्टीबाट सहयोगको अपेक्षा राख्नुभएको छ र आमूल परिवर्तनको नेतृत्व होस् भन्ने सद्भाव व्यक्त गर्नुभएको छ यो हाम्रा लागि निकै सुखद र सकारात्मक चुनौती रहेको छ । हाम्रो निष्कर्ष छ क्रान्ति जनताको उज्ज्वल भविष्य र शान्तिका लागि हो । यसमा जनताको सहभागिता र सहयोग अनिवार्य नै हुन्छ । हामी त्यसलाई अरू विकास गर्न तत्पर भएका छौँ ।
हामीले शान्तिपछिको एउटा सङ्घर्ष भोग्यौँ । यसमा पार्टीपङ्क्ति खरो उत्रिएको छ । हामी जे राम्रो गरेका छौँ त्यसमा गर्व गर्छौं र त्यसको विकास गर्छौं । हाम्रो जहाँनेर अपुग भएको छ त्यसलाई पूरा गर्छौं । जुन विषयमा कमजोरी भएको छ त्यसमा गम्भीर छौँ र त्यसलाई सच्याउन तयार छौँ । अपुग र कमजोरीमा हामी धेरै चिन्तित छैनौँ । किनकि हामी क्रान्तिकारी हौँ । हामीले क्रान्ति गर्नु छ । सम्पूर्ण तागतका साथ क्रान्ति गरिछाड् नेछौँ । क्रान्ति पूरा गर्न जति कठिनाइ भोग्नुपर्छ र मूल्य चुक्ता गर्नुपर्छ त्यसको तुलनामा कमजोरी सच्याउन कुनै समस्या पर्दैन । कमजोरी कुन अङ्गमा देखिएको छ त्यसलाई कसरी उपचार गर्नुपर्छ, उपचारका लागि के विधि अपनाउनुपर्छ त्यसमा कुनै समस्या हुन्न ।

क्रान्तिको बोधबाट कमजोरीहरू सहज प्रकारले सच्याउन सक्छौँ । जब हामी क्रान्तिको पहाड पार गर्न तयार छौँ भने हामी किन निरास हुने ! के कारणले निराश हुने ! यो कसले, कहाँ र कहिले भन्यो ? हँुदै नभएको विषालु हावा फैलाउने र दूषित प्रचार गर्ने !? यस्तो प्रचार गर्ने तत्वहरू कोबाट किन सञ्चालित छन्, क्रान्तिकारीहरूले बुझ्न र यस्ता तत्वलाई उखेलेर फाल्न जरुरी छ । पार्टीको क्रान्तिकारी विचार, सङ्घर्ष, त्याग र बलिदानबारे ‘क’ सम्म नलेख्ने तर हुँदैनभएका वाहियात प्रचार गर्ने तत्वहरूलाई कुनै पनि हालतमा क्रान्तिले छूट दिँदैन । आफ्नो खल्ती भर्न, जनताका वैरीहरूलाई खुसी पार्न र जनतामा निराशा छर्न यस्तो तुच्छ कार्य गर्नु भनेको बन्दुक भिरेको शत्रुभन्दा पनि खतरनाक प्रवृत्ति हो । क्रान्तिकारीहरू यस विषयमा सचेत हुन आवश्यक छ ।

चुनाव खारेज अभियानमा भाग लिएर पार्टी आरनबाट निस्किएको फलामजस्तो खरो भएको छ । यसका केही घाउहरू झरेका छन् । पार्टीले प्रतिक्रियावादी संसदीय व्यवस्थाको सशक्त विकल्पको धार खडा गरेको छ । क्रान्ति, क्रान्तिकारी धारको वरिपरि देशभक्त, वामपन्थी, कम्युनिस्टहरूलाई गोलबन्द गर्ने आधार निर्माण गरेको छ । नेपाली जनताको मुक्ति वैज्ञानिक समाजवादबाहेक अन्यत्रबाट सम्भव छैन भन्ने सन्देश प्रवाह गरेको छ । हामी दुनियाँले सुन्ने गरी सबै दलाल, चाटुकार, सूचना बेचुवा लाक्षी, क्रान्तिबाट त्राहीमाम कायरहरूलाई ढोलको गर्जनमा भन्न चाहन्छौँ– क्रान्ति, क्रान्ति, विश्व मानव मुक्ति र नेपाली जनताको मुक्ति, शान्ति र समृद्धिका लागि वैज्ञानिक समाजवादी क्रान्ति, एकीकृत जनक्रान्ति ! 

Loading...