उत्कृष्ट प्रदर्शनका वावजुत जापानसँग नेपाल १-० ले पराजित

काठमाडौं । एसियाली खेलकुद-एसियाड अन्तर्गत पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग १-० गोलको हार ब्यहोरेको छ।

इन्डोनेसियाको सिकाराङस्थित विबावा रंगशालामा भईरहेको खेलमा जापानका मितोमा काराउले सातौं मिनेटमा गोल गरेका थिए। त्यसयता नेपालका कप्तान समेत रहेका गोलरक्षक किरण चेम्जोङले निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार पाकिस्तानसँग खेल्ने छ।

एसियाड यु-२३ राष्ट्रिय टोलीले खेल्ने प्रतियोगिता हो। समूह ‘डी’मा रहेको नेपालले भियतनामसँग पनि प्रतिस्पर्धा गर्ने छ। मंगलबार नै भएको अर्को खेलमा भियतनामले पाकिस्तानलाई ३-० गोलले हरायो।

समूहको शीर्ष २ टोली अगाडि बढ्ने छन्। नेपालले एसियाड फुटबलको इतिहासमा एउटा खेल पनि जित्न सकेको छैन।

नेपालले यसअघि एक गोलमात्र गरेको थियो। नेपाल पहिलोपटक सहभागी भारतमा सन् १९८२ मा आयोजित एसियाडमा वाईबी घलेले गोल गरेका थिए। एसियाड औपचारिकरुपमा आगामी शनिबार सुरु हुँदै छ।

Loading...