तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको चेतावनी

काठमाडौं, ४ साउन । भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले आफ्नो भूमीबाट सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ ।

भारतले चिनियाँ भूभागमा सैनिक राखेको दाबी गर्दै मङ्गलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सैनिकलाई तत्काल फिर्ता लानुपर्ने चेतावनी दिएका हुन् ।

भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उनको दाबी थियो ।

भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तरराष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताए ।

चीनमा रहेका केही विदेशी कूटनीतिज्ञले घटना ‘दुःखद’ र ‘ बुझ्न कठीन’ भएको बताउँदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेको उनको भनाई थियो ।

लुले थपे, “घटनाको उद्देश्य प्रष्ट छ । भारतीय सेनाले दुई देशबीच छुट्याइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।” भारतलाई अवस्थालाई सहीरूपमा बुझ्न र सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गरे ।

चिनियाँ चासो
‘यसपटक भारतीय सीमा सुरक्षा बलले गैरकानुनी ढंगले चीनको भूभाग अतिक्रमण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने । सीमा विवाद बढिरहेकै वेला एक साताअघि भारतले सीमा सुरक्षा बलको एउटा समूहलाई बन्दोबस्तीका सामग्रीसहित डोकलाममा तैनाथ गरेको थियो । ‘सीमा अतिक्रमणलाई भारतले आफ्ना राजनीतिक उद्देश्यप्राप्तिको औजार नबनाओस् भन्ने हाम्रो आग्रह हो,’ उनले भने, ‘भारतीय सीमा सुरक्षाकर्मीले सीमा अतिक्रमण गरिरहँदा चीनमा रहेका कूटनीतिज्ञहरू चिन्तित छन्,’ । भारतीय सेना सीमाबाट तत्काल पछि हट्नुपर्ने उनले बताए । ‘विवादित क्षेत्रमा थप तनाब हुन नदिन गैरकानुनी रूपमा खटिएका भारतीय सेना सीमाबाट हट्नुपर्र्छं,’ उनले भने ।

कूटनीतिक नियोगसँग छलफल
भारतसँगको सीमा विवादलाई चीनले अन्तर्राष्ट्रियकरण गरिरहेको छ । विवादबारे बेइजिङस्थित विदेशी नियोगसँग छलफल भइरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ । ‘भारतीय अतिक्रमणका विषयमा बेइजिङस्थित विदेशी कूटनीतिक नियोगहरूसँग निकट भएर वार्ता गरिरहेको छ,’ विदेशमन्त्री काङले भने । चीनले सीमा विवादबारे कूटनीतिज्ञहरूलाई एकतर्फी रूपमा ब्रिफिङ गरेको भारतले आरोप लगाएको छ । सीमा विवादमा चीनले आफ्नो धैर्यता गुमाएको पनि भारतले आरोप लगाएको छ । सीमा क्षेत्रमा अतिक्रमण गरेर एकतर्फी रूपमा विदेशी नियोगलाई ब्रिफिङ गरेको भारतको भनाइ छ । ब्रिफिङमा ‘भारतीय पक्षबाट भएको अतिक्रमणबारे बेइजिङले अन्तर्राष्ट्रिय समुदायसामु आफ्नो अडान दोहोर्याएको,’ विदेशमन्त्री काङले बताए ।

दुवै देशका आ–आफ्ना दाबी
तीन देशको सीमा क्षेत्रमा चिनियाँ पक्षले एक साताअघि सडक निर्माण गरेपछि चीन र भारतका सेनाबीच द्वन्द्व बढेको छ । भारतीय भूमिलाई अतिक्रमण गरेर चीनले सडक निर्माण गरेको नयाँदिल्लीले दाबी गरेको छ भने बेइजिङले आफ्नो भूमिमा भइरहेको विकास निर्माण कार्यलाई भारतले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएको छ । सडक निर्माणले भारतको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने भारतको चिन्ता छ । भारत–चीन सीमाको सिक्किम खण्डलाई दुवै पक्षले पारस्परिक मान्यता दिएको विदेशमन्त्रालयका प्रवक्ता काङले बताए ।

शृंखलाबद्ध चेतावनी
यसअघि चिनियाँ दैनिक पत्रिकाको एउटा लेखमा भारत पछि नहटे दुई देशलाई छुट्याउने लाइन अफ कन्ट्रोल (एलओसी)मा ‘अप्रिय’ परिणाम भोग्नुपर्ने चीनले चेतावनी दिएको थियो । ‘भारतसँगको सैन्य द्वन्द्वबाट जोगिन चीनले प्रयास गर्नेछ, तर सार्वभौमसत्ताको सुरक्षाका लागि युद्धमा जान चीन डराउनेछैन’ ग्लोबल टाइम्सको लेखमा उल्लेख गरिएको थियो । त्यसैगरी, दुई दिनअघि सिन्ह्वाको एउटा टिप्पणीमा डोकलामबाट भारतीय फौज फिर्ता नभएसम्म दुई देशबीच वार्ता नहुने जनाइएको थियो । फौज फिर्ता गर्न पटकपटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको सो लेखमा जनाइएको थियो । विवाद समाधान गर्न भारतले बेवास्ता गरिरहे उसले थप ‘लाजमर्दो’ अवस्थाको सामना गर्नुपर्ने चीनले चेतावनी दिएको थियो । भारतले सो भूभागमाथि भुटानले दाबी गरिरहेको भन्दै चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिने बताएको छ ।

कूटनीतिक तहबाट समाधान गर्न सुझाब
यसैबीच, डोकलाम विवादबारे भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)ले विपक्षी दलहरूसँग छलफल गरेको छ । बेइजिङसँगको तनाब कम गर्न र कूटनीतिक तहबाट समस्या समाधान गर्न विपक्षी नेताहरूले सरकारलाई सुझाब दिएका छन् । बैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली र प्रमुख विपक्षी दल कांग्रेससहितका विभिन्न दलका नेताहरू सहभागी थिए । भारत र चीनबीच ४ हजार किलोमिटरभन्दा लामो भूभागमा सीमा जोडिएको छ । सीमा विवादका कारण दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो ।

Loading...