नेकपाका प्रवक्ता प्रकाण्डलाई दुई दिन हिरासतमा राख्न अदालतको आदेश

प्रहरीले सर्वसाधारणलाई पक्राउ गरेर दियो चरम यातना, छानविन गर्न मानवअधिकारकर्मीलाई परिवारको माग

काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले दुई दिन हिरासतमा राख्न म्याद थप गरेको छ । उनीसँगै गिरफतार परेका अन्य दुई जनालाई भने तीन दिन म्याद थप गरेको छ । 

प्रहरीले नेता प्रकाण्डलाई साउन २२ गते हेटौडाबाट काठमाडौ आउदै गर्दा दक्षिणकाली नगरपालिकाको वार्ड नं. १ चाल्नाखेलबाट पक्राउ गरेको थियो । भोलिपल्ट २३ गते प्रहरीले उनलाई विशेष अदालतमा चन्दा संकलनको झुट्टा आरोप लगाएर मुद्दा दायर गरेर पेश गरेको थियो । अदालतमा पेश गर्ने क्रममा नेता प्रकाण्डले आफुलाई ठुलो संख्यामा प्रहरीले एकाएक घेरा हालेर पक्राउ गरी रातभर कालो पट्टी बाँधेर मानसिक यातना दिँदै राखेको बताएका थिए । विशेष अदालतले उनलाई यसअघि पाँच दिन हिरासतमा राख्न म्याद थपेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै आज १५ दिन म्याद थप गर्न माग गरेको थियो ।

प्रहरीले नेता प्रकाण्डसँगै उनी चढेको गाडीका चालक र उनका सहयोगी हरीचन्द आचार्यलाई पनि गिरफतार गरेको थियो । गिरफतार गरिएका मध्ये आचार्यलाई प्रहरीले निर्मम यातना दिएको बुझिएको छ । अदालतमा म्याद थप्नका लागि प्रहरीले लगेका बेला आचार्यले आफ्ना आफन्तलाई आफुलाई चर्को यातना दिएको र सामान्य तरिकाले बस्न र हिडडुल गर्न पनि नसक्ने अवस्था रहेको बताएका थिए ।

त्यसैगरी प्रहरीले २६ गते शनिवार बिहान ललितपुरको सानेपाबाट दोलाखाका प्रमेश दर्नाललाई पक्राउ गरेको छ । प्रहरीले प्रमेशका दाई प्रकाण्डको काममा सहयोगी बनेको भन्दै भाई प्रमेशलाई पक्राउ गरेको बुझिएको छ । तर, उनी कुनै पनि राजनैतिक कार्यमा नलागेको व्यक्ति हुन । विशुद्ध व्यवसाय गरेका बसेका दर्नाललाई पक्राउ गरेर चरम यातना समेत दिएको बुझिएको छ ।

आफनो विशुद्ध व्यापार गरेर बसेका व्यक्ति प्रमेशलाई पक्राउ गरेको र जिउ र हातखुट्टामा निलडाम देखिने गरी चरम यातना दिएर राखेको भन्दै उनका आफन्तजनले आपत्ती जनाएका छन । साथै उनलाई तत्काल रिहा गर्न पनि माग गरेका छन । उनीमाथि प्रहरीले गरेको ज्यादती, दिएको यातनाबारे जाँचबुझ गरिदिन पनि परिवारले राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारकर्मी तथा संचारमाध्यमलाई आग्रह गरेका छन ।

प्रहरीले घरमा आएर सबै सामानहरु फाल्नुका साथै घरपरिवार, महिला, केटाकेटीलाई लछारपछार समेत गरेको थियो । लगातार दुई तीन दिनदेखि घरवरिपरि प्रहरी जम्मा भएर मानसिक यातना दिनुका साथै २६ गते बिहान घरभित्रै पसेर धम्की दिँदै आतंकित पार्ने काम गरेको परिवारले बताएका छन ।

प्रमेशलाई गिरफतार गरेर लगी दिनभर यातना दिएर राखेको र साँझपख मात्र जिल्ला प्रहरी कार्यालय टेकुमा पु¥याएको थियो । सो क्रममा उनीसँगै उनको स्कुटर, अन्य सरसामान, पुस्तकहरु पनि लगेको थियो । बिहान मान्छे गिरफतार गरेको प्रहरीले साँझपख फेरि गएर परिवारलाई आतंकित पार्ने काम गरेको थियो ।

प्रहरीको सो व्यवहारले घरमा केटाकेटीहरु अहिलेसम्म त्रसित रहेको प्रमेशकी भाउजुले जानकारी दिइन । उनले एउटा सामान्य मान्छेलाई अपराधीको जस्तो व्यवहार गरेर गिरफतार गर्नु र अझ अरुसँग जोडेर चरम यातना दिने काम गर्नु ठुलो अन्याय भएको बताइन । यसको छानविन गरी यस कार्यमा सम्लग्न हुने प्रहरीमाथि कडा कारवाही गर्न पनि उनको माग छ । पक्राउ परेका दर्नाललाई पनि विशेष अदालतले प्रहरीको माग वमोजिम ३ दिन हिरासतमा राख्न आदेश दिएको छ ।

यसैबीच नेकपाका प्रवक्ता प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पनि दायर भएको छ । सो रिटमाथि सर्वोच्चले सोमबारका लागि पेशी तोकेको छ ।

Loading...