निरन्तर भत्कन थालेपछि सिक्टा आयोजनाको गुणस्तर अख्तियारले छानविन गर्दै

नेपालगन्ज, २६ साउन । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ।

सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने।

ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको अवस्थामा अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको छ। ‘नहरको भेरिएसन र डिजाइनको विषयमा पनि प्रश्न उठेको छ,’ दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ।’ अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ।

सिक्टाको ४५ किलोमिटर मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको थियो । सिक्टाको विषयमा यसअघि पनि अनियमितताबारे उजुरी परेको थियो । त्यति बेला अख्तियारले छानबिन निष्कर्षमा नपु¥याई बीचमै छाडेको थियो। पुराना फाइलसमेत एकीकृत गरेर अघि बढ्न समितिलाई अधिकार दिएको प्रवक्ता दंगालले बताए।

दुई वर्षअघि परीक्षण क्रममा भत्किएको मूल नहर मर्मत गरिएको थियो। सो नहर पुनः गत साउन ७ गते परीक्षण गर्दा भत्किएको छ। आयोजनाका तत्कालीन उच्च अधिकारी र ठेकेदार कम्पनीको मिलेमतोमा निर्माण कम्पनी कानुनी दायरामा आउन सकेको छैन। अनियमितता विषयमा प्रश्न उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि बिहीबार छानबिन समिति गठन गरेको छ।

राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने डिजाइनअनुसार नहर बनाइएको भए पनि ५ क्युमेक्स पानी पठाउँदा नै भत्केपछि गुणस्तर कमजोर भएको पुष्टि भएको हो। कर्मचारी घुलनशील माटो प्रयोग गरिएका कारण नहर भत्कने गरेको बताउँछन्।

आयोजनाको डिजाइनमा पनि प्रश्न उठेको छ। नहर निर्माणमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । किसानको खेतमा पानी नपुग्दै नहर भत्किएपछि स्थानीय आक्रोशित छन्।

पूर्वाधार निर्माणका योजना निर्माण सम्पन्न भएको एक वर्षसम्म भत्किए, बिग्रिए ठेकदारले मर्मत गर्नुपर्ने कानुनी प्रावधान भए पनि ठेकेदार कम्पनीले अटेरी गर्दै आएको छ भने ठेकदारलाई उन्मुक्ति दिन आयोजनाले आफैं मर्मत सुरु गरेको छ। बाँकेको ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसहति योजना निर्माण गरिएको हो। आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनामा अहिलेसम्म ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ।

परीक्षणका क्रममा यही साउन ७ गते बाँकेको ढकेरीस्थित चंगाई नालानजिक आयोजनाको पश्चिम मूल नहरको संरचना भत्किएको थियो। त्यसअघि पहिलोपटक परीक्षणकै क्रममा २०७३ असार १४ गते पनि ढकेरीको झिझरी खोलानजिक मूल नहर भत्किएको थियो।

अख्तियारले शुक्रबार विज्ञप्ति निकालेर सिक्टा सिंचाइ आयोजनाको मूल नहर पटकपटक भत्किएकाले त्यसको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बाँकेबासीले पनि अख्तियारलाई निष्पक्ष छानबिन गरेर कारबाही प्रक्रिया टुंगोमा पु-याउन आग्रह गरेका छन्। विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले अनुसन्धानलाई निचोडमै पु-याएर अनियमिततामा संलग्न कर्मचारी, परामर्शदाता र ठेकेदारलाई कारबाही गर्नुपर्ने माग गरे। ‘ढिलै भए पनि अख्तियारले सिक्टामाथि छानबिन थालेको छ’, उनले नागरिकसँग भने, ‘यसमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने काम अख्तियारले गरोस्।’ नागरिक दैनिक

Loading...