रुविना खड्का र चाउची डंगोल भए वर्ष खेलाडी

काठमाडौं । रुबिना खड्का र चाउची डंगोलले आइटिएफ वर्ष खेलाडीको उपाधि जितेका छन् । नेपाल इन्टरनेसनल तेक्वान्दो (आइटिएफ)को २१औँ स्थापना दिवसका अवसरमा आयोजित वर्ष खेलाडी अवार्ड कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । उनीहरु दुबैजना नेपाल आर्मीका खेलाडी हुन् ।

सम्मानित भएका दुबै खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आइटिएफ प्रतियोगिता र १५औँ सिनियर तथा नवौँ राष्ट्रिय आइटिएफ प्रतियोगितामा स्वर्ण जितेका थिए । उनीहरूले केही समयअघि सम्पन्न ८ राष्ट्रको सहभागिता रहेको साउथ एसियन तथा आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि पदक जितेका थिए । रुबिनाले ३ स्वर्ण जितेकी थिइन् भने चाउचीले २ स्वर्ण जितेका थिए । उत्कृष्टलाई पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायतले सम्मान गरेका थिए ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षकको उपाधि भक्तपुरका आशिष कार्कीले जिते । साउथ एसियन प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउँदा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । काभ्रे जिल्ला आइटिएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पारेको थियो । पुरस्कृत सबैले नगद ५ हजार प्राप्त गरेका थिए । नेपाल आइटिएफ संघमा योगदान दिने व्यक्तित्वहरूलाई पनि संघले सम्मान गरेको थियो ।

Loading...