पर्यटन विकासका लागि प्रभावकारी प्रचार प्रसारको खाचो

पर्यटनको अपार संभावना भएर पनि नेपालको पर्यटकिय क्षेत्रहरुको उचित प्रचार प्रसार हुन नसकेको निष्कर्ष सम्बन्धित क्षेत्रका अनुभवीहरुको रहेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा अाइतबार टोकियोमा आयोजित नेपालको पर्यटन प्रवर्धनमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका बिषयक एक दिवसीय बिचार गोष्ठिका सहभागी अनुभवीहरुले यस्तो निष्कर्ष निकालेका हुन ।

सम्बन्धित बिषयको अध्ययन गरिरहेका अध्ययन कर्ताहरुले बिदेशमा संसारको सर्वोच्चशिखर सगरमाथा र भगवान गौतम बुद्धको भूमी नेपाल भएको पनि पर्याप्त प्रचार प्रसार हुन नसकेको बताए ।

प्रचार प्रसार भईरहेका पर्यटकिय स्थलहरु पनि सिमित मात्र भएको बताउदै आयोजक संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्रका बिष्णु खनालले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपालका सबै पर्यटकिय स्थलहरुको अध्ययन गरी उचित प्रचार प्रसार गरिनुपर्नेमा जोडदिए ।संख्यात्मक पर्यट्क भन्दा पनि गुणस्तरीय पर्यटक बृद्धिमा नेपालले ध्यान दिनुपर्ने सुझाव खनालले राखे ।

पर्यटन क्षेत्रका अर्का अनुभवी बिशेश्वर रेग्मीले श्रीलंकामा पर्यटन ब्यवसायको प्रगति भईरहेको ध्यानाकर्षण गराउदै नेपालको पर्यटन बृद्धिका लागि प्रभावकारी वेभ साइटहरुको खाचो अौल्याए ।

अर्का पर्यटन ब्यवसायी संजिव खनालले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै जापानले गाउहरुलाई पनि पर्यटकिय स्थलका रुपमा बिकास गरेको स्मरण गराउदै नेपालले पनि नेपाल भित्रै फरक पहिचान भएका गाउहरुलाई पर्यटकिय स्थलका रुपमा बिकास गर्न सकिने सुझाव राखे ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले जापानमा नेपालका पर्यटकिय स्थलहरुको उचित प्रचार प्रसारका लागि दूतावास लागिरहेको बताउदै जापानका सबै नेपालीले आफ्नो ठाउँ बाट प्रचार प्रसार गर्न पनि अनुरोध गर्नुभयो ।

एनआरएनएका उपाध्यक्ष देबिलाल भण्डारीले नेपालको जापानमा प्रचार प्रसारका लागि नेपाल फेष्टीवल प्रभावकारी माध्यम हुने उल्लेख गर्दै एनआरएनए जापानले नेपालको पर्यटन प्रचार प्रसारका लागि थप प्रभावकारी कार्यक्रमहरु ल्याउने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागिहरुले नेपाल सरकारले अहिले गरिरहेको प्रचार प्रसार अपर्याप्त भएको भन्दै पर्यटन बिकासका लागि सरकारले प्रभावकारी प्रचार प्रसारमा जोडदिनुपर्ने सुझाव राखेका थिए ।

उक्त कार्यक्रममा पर्यटन मन्त्रालयका उपसचिव पुष्प कटुवाल सफल ब्यवसायी तथा एनआरएनए सदस्य महेश श्रेष्ठ प्राध्यापक डा:भुपालमान श्रेष्ठ ,अाइटी बिशेषज्ञ डा:बेद काफ्ले लगायतले नेपालको पर्यटन बिकासका लागि आ-आफ्ना सुझावहरु राखेका थिए ।

आयोजक संस्थाले सहभागिहरुका सुझाव पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई बुझाउने जनाएको छ ।

उक्त कार्यक्रम सुदुरपश्चिमेली समाज जापानका अध्यक्ष एकेन्द्र थापा को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन बाबुराम पौडेल र डा :भरत नेगीले गरेका थिए ।पर्वत समाज जापानका अध्यक्ष सुजन जोशिले कार्यक्रम मा स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा पर्वत समाज जापान राप्ती समाज र यूथ फर अल सहआयोजकमा रहेका थिए ।

Loading...