जाजरकोट सदरमुकाममा पहिरोले दुई घर बगाउँदा सात जनाको मृत्यु, २ जना वेपत्ता

जाजरकोट, २० साउन । अविरल वर्षाका कारण जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

आज आइतबार बिहान ७ बजेतिर एकाएक पहिरो जाँदा दुईवटा घर नै बगेका छन । पहिरोले जाजरकोटका पत्रकार तिर्थराज बोहोरा र उनको घर नजिकै रहेको अर्को घर पुरै बगाएको छ । सोही पहिरोमा परेर पत्रकार तिर्थराज बोहोराकी पाँच वर्षीय छोरी नजिता बोहोराको मृत्यु भएको छ । त्यसैगरी पहिरोमा परेर करिव २९ वर्षीया शीतला लुहार, उनका छोरीहरु ९ वर्षीय रन्जना, ६ वर्षीय मनिषा र तीन वर्षीय भगवती लुहारको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अन्य २ जनाको सनाखत हुन सकेको छैन ।

पहिरोमा परेर अन्य केही बालबालिका हराइरहेको जाजरकोट प्रहरीले जनाएको छ । पहिरोमा कति क्षति भयो भन्ने एकिन हुन नसकेको पनि प्रहरीले जनाएको छ । पहिरोमा परेका पत्रकार तिर्थराज बोहोरा र खडगबहादुर लुहार घाइते भएका छन । पहिरोमा परेर बेहोस अवस्थामा उद्धार गरी अस्पताल पुरयाइएका पत्रकार बोहोरा सामान्य उपचारपछि सामान्य अवस्थामा आइसकेका छन भने खडगबहादुर लुहारलाई भने गम्भीर चोट लागेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेको छ ।

पहिरोमा परेका सात जनाको शव पहिरोले पुरेको पत्रकार बोहोराको घरबाटै निकालिएको हो । बोहोराको घरसँगै रहेको गोपाल सुनारको घर पनि पहिरोले बगाएको छ । उक्त घरमा रहेका दुई जना बालबालिका भने पहिरोमा परी वेपत्ता छन । उनीहरुको खोजि कार्य जारी छ । दुबै जना बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ । हराउने मध्ये कुशे–६ ढिमेका प्रेम परियारका १३ वर्षीय छोरा नरेन्द्र परियार र ११ वर्षीय कृष्ण परियार रहेको थाहा हुन आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी र स्यानीय व्यक्तिहरु उद्वारमा जुटेका छन ।

जाजरकोटसहित पश्चिम पहाडमा केही दिनदेखि भारी वर्षा परेको थियो । आज आइतबार बिहान पत्रकार बोहोरा आफनो परिवारसँगै जाजरकोट सदरमुकामको ठाँटीमा रहेको आफनो घरमै बसेका थिए । बिहान सात बजेतिर पत्रकार बोहोरा पाँच वर्षीय छोरी नजितासँगै घरभित्र बसिरहेका थिए भने उनकी श्रीमती तीन वर्षीय छोरालाई समातेर बाहिर निस्केकी थिइन । सोही बेला बाहिर ठुलो आवाज आएपछि बोहोरा बाहिर निस्केका थिए । उनी बाहिर निस्कनु र माथिबाट ठुलो पहिरो आएर उनको घर पुर्नु एकैसाथ परेको थियो । पहिरोले सामान्य असर गरेका बोहोरा अचेत अवस्थामा जिल्ला अस्पतालमा पुरयाइएका थिए । पहिरोबाट उनी बच्न सफल भए पनि घरभित्रै रहकी उनी छोरी र सोही घरमा बस्ने अन्य व्यक्तिहरुलाई भने पहिरोले पुर्यो ।

पहिरोले छोरीसँगै घर र घरमा रहेको सबै सम्पती बगाएपछि पत्रकार बोहोरा बिचल्लीमा परेका छन । उनीसहित जाजरकोट पहिरोमा परेकाहरुको उद्धारका लागि पहल गरिदिन उनका आफन्तजनले आगह गरेका छन ।

पत्रकार बोहोरा नेपाल पत्रकार महासंघका सदस्य, क्रान्तिकारी पत्रकार संगठनका जाजरकोट जिल्ला अध्यक्ष तथा केन्दीय सदस्य, पर्यटन पत्रकार संघ जाजरकोट शाखाका कोषाध्यक्ष हुन ।

Loading...