जिम्बाब्बे राजधानीमै ठूलो झडप, प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु

काठमाडौं । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो ।

विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर राष्ट्रपति इमरसन मनंगाग्वाले हिंसा भड्कनुमा स्वयं विपक्षी दल जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् ।

जिम्बाब्बेमा ३७ वर्ष शासन गरेका रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमबार पहिलोपटक निर्वाचन भएको थियो । निर्वाचनको परिणाममा सत्तारुढ दल जानु–पीएफ पार्टीले फराकिलो अग्रता बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर, विपक्षी गठबन्धन एमडीसीले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । जानु–पिएफका उम्मेदवार नभएर आफ्ना उम्मेवदार विजयी भएको दाबी उसको छ । विपक्षी गठबन्धनबाट नेल्सन चामिया मैदानमा छन् । जानु–पिएफले फराकिलो अग्रता बनाइरहेको भए पनि अहिलेसम्म औपचारिक परिणाम सार्वजनिक भएको छैन ।

परिणाम घोषणामा भइरहेको ढिलाइप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता व्यक्त गरेका छन् । चुनावको पर्यवेक्षण गरेको युरोपेली युनियनले राष्ट्रपति चुनावको नतिजा सार्वजनिकमा ढिलाइ नगर्न अाग्रह गरेकाे छ ।

हेर्नुहोस् भिडियो

Loading...