मेक्सिकोमा एकाबिहानै विमान दुर्घटना

अमेरिकी मुलुक मेक्सीकोमा बुधबार बिहान विमान दुर्घटना हुँदा ८५ जना घाइते भएका छन्। दुरांगो राज्यमा धावनमार्गबाट उडिसकेको विमान दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका चार सदस्यसहित विमानमा १ सय १ जना सवार थिए। बीबीसीका अनुसार घाइते ३७ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको दुरांगो राज्यका गभर्नर जोसे अइस्पुरोले जानकारी दिएका छन्। उनले ट्वीट गर्दै मानवीय क्षति भने नभएको पुष्टि गरेका छन् ।

एरोमेक्सिको एएम २४३१ ग्वाडेलोप भिक्टोरिया इन्टरनेसनल एयरपोर्टबाट मेक्सिको सिटीका लागि उडेको विमान केही बेरमै विमानस्थलनजिकै दुर्घटनामा परेको हो।

विमान दुर्घटनापश्चात् विमनमा आगो लागेको थियो। तर आगो नियन्त्रणमा आइसकेको र त्यसले यात्रुलाई कुनै असर नगरेको नागरिक रक्षामन्त्रालयाका प्रवक्ता एलिजान्द्रो कार्डोजाले बताएका छन्। विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।

Loading...