पार्टीभित्र विवादै विवाद पर्न थालेपछि नारायणकाजीले दिए एकाएक राजिनामा

काठमाडौं । पार्टी एकता भएको छोटै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच तीब्र मतभेद सुरु भएको छ । बैठकदेखि सार्वजनिक कार्यक्रममा एक अर्काको आलोचनादेखि विरोध असन्तुष्टि हुन लागेको छ । सरकार संचालनप्रति पनि पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका छन् ।

व्यवस्थापन भन्दा पनि आन्तरिक किचलो फैलिँदै गइरहेको छ । यसैबीच पार्टी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राजिनामा दिएका छन् । अध्यक्ष ओलीसँगको विवाद बढ्दै गएपछि श्रेष्ठले राजिनामा दिन बाध्य भएको बताइएको छ । उनले गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।

पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

अर्का अध्यक्ष दाहालले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा काँग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।

स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले सो जिम्मेवारी दिएका हुन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका प्रवक्ता श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको सार्वजनिक भएको छ ।

Loading...