गोलाकारभित्रको हसिया हथौडा फेर्न प्रचण्डलाई चर्को दवाव

काठमाडौं, ४ साउन । स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) समीक्षामा छ । पार्टीको विभिन्न तहको बैठक बसालेर सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव हार्नुका कारण खोतलिरहेका छन् ।

यसैबीच प्रचण्डलाई तल्ला तहका नेताहरुले पार्टीको चुनाव चिन्ह फेर्न माग गरेका छन् । अधिकांश जिल्ला इन्चार्जहरुले अहिले प्रयोग गरिरहेको पार्टीको चुनाव चिन्ह अरुसँग पनि मिल्ने भएका कारण हारिएको तर्क गर्दै अरु कसैसँग नमिल्ने चुनाव चिन्ह मिलाउनका लागि प्रचण्डलाई सुझाब दिएका छन् । गोलाकारभित्र हसिया हथौडा भएको अहिलेको चुनाव चिन्ह नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने भएका कारण मतदाता झुक्किएर त्यसमै बढी भोट हालेको उनीहरुको तर्क छ ।

मतदाता अल्मलिएर ठूलो भोट खेर गएको भन्दै उनीहरुले अब कसैसँग नमिल्ने र सबैले चिन्ने खालको मतचिन्ह बनाउन माग गरेपछि यो बहस अहिले माओवादी केन्द्रभित्र बढ्दै गएको छ । साथै उनीहरुले मतदाता शिक्षाका क्रममा चुनाव चिह्नबारे प्रभावकारी रुपमा बताउन नसकेको पनि बताएका छन् ।

‘कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हसिया हथौडा छाड्न त नमिल्ने हो, तर मत परिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो,’ माओवादी केन्द्रका सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रोबारेमा सोच्ने हो कि भन्ने बहस आज उठेको छ।’

नेता मणि थापाका अनुसार केही जिल्ला इन्चार्जले भने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय चिह्न बदल्दा समर्थकहरुमा झन् नकारात्मक सन्देश जान सक्ने भन्दै बरु पर्याप्त मतदाता शिक्षा दिलाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने फरक मत पेश गरेका छन् ।
बैठकका सहभागीले सीपी मैनाली नेतृत्वको माले पार्टीको संगठन, उम्मेदवार हुँदै नभएका ठाउमा समेत हसिया तारामा भोट झर्नुले ती भोट माओवादीकै भएको दाबी गर्दै यसबारे संवेदनशील हुन नेतृत्वलाई आग्रह गरेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

मंगलबार २५ जिल्ला इन्चार्जले मात्रै बोल्ने क्रम सकिएकाले सबैको पालो सकिएपछि दाहालले जवाफ दिने पार्टी नेताहरुले जानकारी दिए ।

Loading...