दुर्इ जिल्ला बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

बाँके, १४ साउन । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ गायब भएका हुन् ।

बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही क्षेत्रका २ सय ७५ सहायक स्तम्भमध्ये पाँचवटा नदीले बगाएको छ भने तीनवटा हराएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले १९ भन्दा बढी जीर्ण स्तम्भ मर्मत हुन नसकेको बताए । बर्सेनि आउने बाढी र कटानले नेपाल–भारत छुट्याउने सीमास्तम्भ बगिरहेको केसीले बताए । ‘सीमास्तम्भ बाढीले बगाएको र हराएको भन्ने जानकारीमा आएको छ,’ उनले भने । बाँकेमा नेपाल–भारत छुट्याउने मुख्य र सहायक गरी तीन सय सात सीमास्तम्भ छन् ।

नेपाल–भारत सिमानाअन्तर्गत बर्दियामा दुई सय ४५ सीमास्तम्भमध्ये मुख्य सातसहित ९३ स्तम्भ हराएका छन् । बबई नदीको बाढी र कटानका कारण तीनवटा सीमास्तम्भ जोखिममा रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । ०७१ र ०७४ को बाढीले ठूला, मझौला र साना ३२ स्तम्भ बगाएको उनले बताए । ‘बाढीले सीमास्तम्भ बगाए पनि पुनर्निर्माण हुन अझै सकेको छैन,’ उनले भने ।

बर्दियाको पूर्व मानखोलादेखि पश्चिम राजापुरसम्म कर्णाली नदीको ८३.८ किलोमिटर क्षेत्रमा रहेका सीमास्तम्भ नै हराएपछि दशगजा क्षेत्र देखिन छाडेको राजापुरका स्थानीय जंगलु थारूले बताए । उनले सीमास्तम्भ बगेपछि नेपाली भूमि अतिक्रमणको चपेटामा परेको बताए ।

सीमास्तम्भको सुरक्षा र मर्मत नहुँदा भारतीय पक्षबाट अतिक्रमण बढ्दै गएको बाँके डुडुवा गाउँपालिका–१ होलियाका राकेशकुमार बर्माले बताए । ‘सीमास्तम्भ बगाएपछि जमिनको विषयमा भारतीय र नेपालीबीच पटक–पटक विवाद हुने गरेको छ,’ उनले भने ।

नेपाल–भारत सीमास्तम्भ राप्ती नदीले बगाएपछि नदीले नै दशगजाको रूपमा काम गर्दै आएको छ । बाढीले सीमास्तम्भ बगाउँदासमेत दुवै देशका उच्च आधिकारीले पुनर्निर्माणमा चासो नदेखाउँदा नदीले नै सीमास्तम्भको काम गर्दै आएको छ ।

केही वर्षअघि भारततिर रहेको राप्ती नदी धार परिवर्तन गरी नेपालतर्फ आएपछि नेपाली भूमिमा भारतीयले खेतीपाती गर्दै आएको डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लले बताए । उनले नदीले छोडेर जमिन खेतीयोग्य हुँदासमेत सीमास्तम्भ पुनर्निर्माणमा सरकारले चासो नदेखाउँदा नेपाली भूमि भारततर्फ गएको बताए ।

Loading...