मेसी र रोनाल्डोसहित २५ खेलाडी फिफा वर्ष खेलाडीमा मनोनयन, परेनन नेयमार

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर तथा साविकको विजेता क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीसहित १० खेलाडी फिफा वर्ष खेलाडी अवार्डका लागि मनोनित भएका छन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार निकालेको सूचीमा पेरीस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्ट्राइकर नेयमार भने अटाएका छैनन् । यस्तै ब्राजिलका कुनैपनि खेलाडी फिफा बर्ष खेलाडीको मनोनयनमा पर्न असफल भएका छन् ।

बर्ष खेलाडी अवार्डका लागि पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेस्सीसंगै विश्वकप विजेता टोली फ्रान्सका तीन खेलाडी परेका छन् । फ्रान्सका एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे र राफायल भाराने परेका छन् । यस्तै बेल्जियमका इडेन हाजार्ड, केभिन डी ब्रुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रीच र इजिप्टका मोहमद सलाह रहेका छन् ।

इंग्ल्यान्डका केन सन् १९८६ पछि फिफाको उच्च अवार्डको लागि मनोनयनमा पहिलो इन्ग्लिश खेलाडी हुन् । सन् १९८६ मा गेरी लिनेकरले अवार्ड जितेका थिए ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्नेछ । फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट छुट्टिएर दुई बर्ष अघिबाट अलग्गै वर्ष खेलाडीको घोषणा गर्दै आएको छ ।

गत बर्षको जुलाई ३ बाट यो बर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ ।

यस्तै फिफा बर्ष महिला खेलाडीको मनोनयनमा ओलम्पिक लियोनेसकी लुसी ब्रोन्जे, वुल्फवर्गकी पिर्निले हार्डर, ओलम्पिक लियोनेसका अदा हेजेरबर्ग, ओलम्पिक लियोनेसकै अमानडीने हेन्री, अष्ट्रेलियाकी साम केर, जापानकी सकी कुमागई, जर्मनीकी डीज्नीफर मारोजसान, ब्राजिलका मार्टा, अमेरिकाकी मेगान रापिनोए र ओलम्पिक लियोनेसकी वेडी रेनार्ड परेकी छिन् ।

फिफा बर्ष प्रशिक्षकमा विश्वकप बिजेता फ्रान्सका प्रशिक्षक डीडीएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डीवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेका छन् ।

फिफा बर्ष महिला प्रशिक्षकको मनोनयनमा चेल्सीका प्रशिक्षक इमा हाएस,उल्फबर्गका स्टेफेन लेर्च, पोर्टल्याण्डका मार्क पार्सन्स, ओलम्पिक लियोनेसका रेनाल्ड पेड्रोस, अष्ट्रेलियन प्रशिक्षक एलेन स्टाज्चिक, जापानिज प्रशिक्षक आसाको ताकाकुरा, स्पेनिस प्रशिक्षक जोर्गे भिल्डा, ब्राजिलका प्रशिक्षक भाडो, स्विजरल्याण्डका प्रशिक्षक मार्टिना वोस र नेदरल्याण्डका प्रशिक्षक सरिना विगम्यान परेका छन् ।

Loading...