मंगल ग्रहमा पानीको ताल भेटियो, जीवनको सम्भावना

काठमाडाैं । अनुसन्धानकर्ताले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण भेट्टाएका छन् । दक्षिणी ध्रुबको हिउँले भरिएको क्षेत्रमा तरल अवस्थामा रहेको पानीको ताल भएको प्रमण आफूहरुले फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।

सतहमा हिउँ रहेको र त्यसको एक किलोमिटर तल पानी तरल अवस्था रहेको वैज्ञानिकको भनाई छ । यसअघिका अनुसन्धानमा मंगल ग्रहमा कुनै बेला पानी रहेको भन्ने संकेत दिने प्रमाण भेट्टिएका थिए ।

तर मंगल ग्रहमा अहिले पनि पानी तरल अवस्थामा रहेको छ भन्ने प्रमाण भेटिएको यो पहिलो पटक हो । नासाको क्युरियोसिटी रोवरले गरेका अनुसन्धानमा मंगल ग्रहको सतहमा पानी यसअघि रहेको प्रमाणलाई बल दिने संकेत भेटिएका थिए ।

ग्रहको कमजोर वायुमण्डलका कारण जलवायु बिस्तारै चिसो हुँदै जाँदा पानी हिउँमा परिणत भएको वैज्ञानिकले बताउने गरेका छन् । तर मंगल ग्रहको एक्सप्रेस अर्बिटरमा रहेको राडार उकरण मार्सिसको सहयोगमा भएको नयाँ खोजमा अहिले पनि पानी तलर अवस्थामा रहेको प्रमाण भेट्टिएको हो । मार्सिसलाई युरोपियन स्पेस एजेन्सीले पठाएको हो ।

इटालीको नेशनल इन्स्टिच्युड अफ एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्तो ओरोसेइले अनुसन्धानको नेतृत्व गरेका हुन् । उनले भने, ‘सम्भवतः यो निकै ठूलो ताल हुन सक्छ ।’ तर मार्सिसले तरल अवस्थामा रहेको पानीको गहिराई कति छ भन्ने पत्ता लगाएको छैन ।

अनुसन्धानकर्ताले भने तरल रुपमा रहेको पानीको गहिराई कम्तिमा एक मिटर हुनु पर्ने बताउँछन् ।

प्राध्यापक ओरोसेइले भने, ‘जे भेट्टिएको छ त्यो पानी नै हो । यो पानी तालको रुपमा छ । हिउँ पग्लिएको वा हिउँका टुक्राबिच भएको पानी होइन, यो पूरै पानीले भरिएको ताल हो ।’

पानीको मात्रा रहेको थाहा लागेसँगै मंगलमा जीवनको सम्भावना देख्नेहरु पनि छन् । तर मानव जीवनको सम्भावनाबारे अहिले नै निश्चित रुपमा केही भन्न सकिने अवस्था भने छैन ।

तर तरल अवस्थामा पानी भेट्टिनु मंगलमा यसअघि जीवन रहेको वा अब जीवनको सम्भावना रहेकोबारे अनुसन्धान गरिरहेकाहरुका लागि खुशीको कुरा हो ।

यसले जीवनको सम्भावनाको खोजीमा सहयोग गर्छ । तर पत्ता लागेको तालका बारेमा अझै बिस्तृत अध्ययन हुन भने बाँकी छ ।

Loading...