चिकित्सकमाथि अाक्रमण भएपछि भेरी अञ्चल अस्पताल बन्द

नेपालगन्ज, ३ साउन । भेरी अंचल अस्पतालका चिकित्सकले आन्दोलनसँगै अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघ भेरीको आह्वानमा मंगलबारदेखि अस्पतालको आपतकालिन सेवा बाहेक सबै सेवा बन्द गरिएको छ।

नेपालगन्जका मेडिकल कलेज, निजी अस्पताल र मेडिकलसमेत बन्द गरिएका छन्। संघका आजीवन सदस्य एवं भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. श्याम सुन्दर यादवमाथि आक्रमणको प्रयास भएको र आक्रमण प्रयास गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै भेरी अंचल अस्पतालका चिकित्सकले ओपीडी सेवा बन्द गरेका हुन्।

डा. यादवले संचालन गरेको माँ जानकी अस्पतालमा बिरामीका आफन्तले आक्रमण प्रयास गरेको र कारबाहीको माग गर्दै किटानी जाहेरी दिँदासमेत बेवास्ता गरिएकोले सुरक्षाको माग गर्दै आन्दोलन शुरु गरिएको संघका सचिव डा.आरके झाले जानकारी दिए। विज्ञप्ती जारी गर्दै उनले चिकित्सकमाथि आक्रमणको प्रयास गर्नेलाई कारबाही र सुरक्षा व्यवस्था नमिलाएसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

गत असार २८ गते माँ जानकी अस्पतालका चिकित्सक यादवमाथि दुव्र्यवहार भएको थियो। डा यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति पुर्‍‍याउने पाँच जनाको नाम किटान गरी निवेदन दिँदा समेत स्थानीय प्रशासनले कारबाही प्रक्रियाअघि नबढाएकाले बाध्य भएर आन्दोलन आह्वान गरिएको डा. झाले बताए।

संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडाको नाममा किटानी जाहेरी दिएको छ। अस्पतालका सेवा बन्द भएपछि उपचारका लागि टाढा–टाढाबाट नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ।

Loading...