त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएन

काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी हुने गरेको पाइएको छ । सरकारले केही समयअघि विमानस्थलबाट सुन तस्करीको जालो तोडिएको दाबी गरेको थियो । पछिल्लो समय तस्करीले झन् परिष्कृत रूप लिन थालेको देखिएको छ । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाई ल्याएको दुई केजी ६७० ग्राम सुन बरामद गरेपछि अझै सुन तस्करीको क्रम नरोकिएको पुष्टि भएको हो ।

थाई एयरवेजबाट काठमाडौं उत्रिएका दुई भारतीय नागरिकको मलद्वार परीक्षण गर्ने क्रममा प्रहरीले साढे दुई केजी सुन बरामद गरेको हो । उनीहरूलाई विमानस्थल सुरक्षागार्डबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक इमरन र अरिफ अली छन् ।

प्रहरीका अनुसार उनीहरूले सुनलाई आठवटा टुक्रामा विभाजन गरी सानो र गोलो बनाएका थिए । गोलो पारिएको सुनमध्ये प्रत्येकले चार–चारवटाका दरले मलद्वारमा लुकाएका थिए । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रवक्ता पूर्णचन्द जोशीले पक्राउ परेका व्यक्ति बैंककबाट काठमाडौं आएका हुन् । ‘बैंककबाट काठमाडौं आउँदै गरेको दुई शंकास्पद व्यक्ति पक्राउ परे ।

उनीहरूको शरीर खनतलासी भयो । यही क्रममा उनीहरूको मलद्वारमा सुनलाई टुक्रा बनाएर लुकाइराखेको भेटियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । प्रहरीका अनुसार शंका लागेपछि शरीर एक्सरे गर्ने क्रममा मलद्वारमा लुकाएर राखिएको अवस्थामा सुनको टुक्रा भेटिएको हो ।

Loading...