मलेसियामा नेपाली सुरक्षागार्डले देखाएको बहादुरीप्रति संसारभर यस्तो प्रशंसा (भिडियो)

काठमाडौं । मेलेसियामा कार्यरत नेपालीहरुले गरेको कामप्रति अहिले विश्वभरका नेपालीहरुमाझ निकै चर्चा भइरहेको छ । मलेसियाको सुवाङजया भन्ने ठाउँको एक अपार्टमेन्टमा कार्यरत नेपालीहरुले जवरजस्त अपार्टमेन्टमा छिर्न खोज्ने एक व्यक्तिलाई बहादुरीपूर्वक कब्जामा लिएको भिडियो दृष्यले विश्वभर चर्चा पाएको हो ।

एकजना मार्सल आर्टका खेलाडीलाई नेपाली सुरक्षागार्डले नियन्त्रणमा लिएर झ्याइकुटी पार्दै लगेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । ठूलो ज्यान र शारीरिक रुपमा निकै बलियो देखिने एक व्यक्तिलाई उनीभन्दा सानो ज्यान भएका नेपाली युवा सुरुमा एक्लै भिडिरहेको भिडियोमा देखिन्छ । जवरजस्त अपार्टमेन्टमा घुस्न खोज्ने व्यक्ति मार्सल आर्टका खेलाडी रहेको बताइएको छ । उनको आक्रमण शैली हेर्दा पनि उनी मार्सल आर्टका खेलाडी रहेको थाहा हुन्छ । तुलनात्मक रुपमा कमजोर ज्यान भएका नेपाली युवाले गजवको प्रतिकार गरेका छन् । साथै उनले ती व्यक्तिलाई एक्लै भुईमा पछारेका छन् । भुईमा पछारेपछि मात्र अरु थप नेपाली सुरक्षागार्डहरु आएर ती व्यक्तिलाई डोरीले बाँधेका छन् ।

यो भिडियो कसले खिचेको हो भन्ने अहिलेसम्म थाहा भएको छैन । तर, यो भिडियो युट्यूव र फेसबुकमा निकै हेरिएको छ । अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेको यो भिडियो सुरुमा ‘डिस्कभर सुवाङजया’ नामक फेसबुक पेजमा राखिएको थियो । सोही पेजबाट नै यसलाई सबैले सेयर गरेको देखिन्छ ।

उक्त पेजमा यो भिडियोसँगै यससँग सम्बन्धित केही फोटोहरु पनि सार्वजनिक गरिएको छ । फोटो र भिडियो हेर्दा जवरजस्त अपार्टमेन्टमा प्रवेश गर्ने ती व्यक्तिले सोधपुछ गर्ने नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गरेको देखिन्छ ।

यो भिडियो सार्वजनिक भएसँगै नेपालीहरुको कामप्रति फेरि एकपटक धेरैले गर्व गरेका छन् । नेपालीको यो कामप्रति मलेसियनहरुले पनि खुसी व्यक्त गरेका छन् । उनीहरुले नेपाली युवाहरुको यस्तै कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको प्रतिक्रिया उनीहरुले सामाजिक सञ्जालमा दिएका छन् ।

यसैबीच नेपाली सुरक्षागार्डको नियन्त्रणमा रहेका ती व्यक्तिले माफी पनि मागेका छन् । उनले आफूले सुरुमा मुक्का हान्नु गल्ती भएको भन्दै त्यही गल्तीका कारण आफूले पछि धेरै प्रतिकार नगरेको बताएका छन् । तर, उनले जति आक्रमण र प्रतिकार गर्न खोजे पनि नेपाली युवाहरुले उनलाई राम्रैसँग नियन्त्रणमा लिएको भिडियोमा देखिन्छ ।

 

नेपाली सुरक्षा गार्डले यसरी कब्जा गरेका थिए यी अाक्रमणकारीलार्इ

Loading...