नेविसंघको विवाद मिलाउन देउवाले बोलाए बैठक

काठमाडौं ।

नेपाल विद्यार्थी संघभित्र देखिएको आन्तरिक विवाद मिलाएर १२ औं महाधिवेशनको वातावरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन्।

शनिबार अपरान्ह ४ बजे तय गरिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगनकुमार थापालगायत नेताहरू सहभागी हुनेछन्। बैठकमा नेविसंघका सभापति नैनसिंह महरलगायत विद्यार्थी नेतालाई पनि बोलाइएको छ।

सभापति महरले एकलौटी ढंगले संगठन चलाएको आरोप लगाउँदै महामन्त्री कुन्दनराज काफ्ले पक्षले समानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन्। ११ औं महाधिवेशनमा देउवा र सिटौला पक्ष मिल्दा सभापतिमा महर र महामन्त्रीमा काफ्ले विजयी भएका थिए।

तर पछिल्लो समय उनीहरू एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन्। नेविसंघले साउन २३ देखि २७ गतेसम्म राजधानी काठमाडौंमा महाधिवेशन तोकिसकेकोले महाधिवेशनको माहोल बनाउन पार्टीका नेताहरूसँग छलफल गर्न सभापति देउवाले बैठक बोलाएको महरले सेतोपाटीलाई बताए।

२०७५ साउन ५ मा प्रकाशित ।

Loading...