गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने तयारीमा प्रधनमन्त्री

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।

उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि गण्डकी प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका छन् ।

पोखरा विश्वविद्यालयको १९ औँ वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली आज पोखरा आउन लागेका हुन् ।

साधारणसभाले विश्वविद्यालयको आव २०७४÷७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आव २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आजै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने कार्यक्रम तय भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

२०७५ साउन ३ मा प्रकाशित ।

Loading...