ह्वाट्स एपको गलत म्यासेजले गाउँलेद्वारा गाडीमा हमला, १ इञ्जिनियरको मृत्यु

नयाँ दिल्ली ।

आज भोली सामाजिक सञ्जाल दुरुपयोगले मान्छेको ज्यानै जाने घटनाहरु समेत घट्न थालेका छन् । भारतको कर्नाटकमा यस्तै एउटा घटना भएको छ ।

एक जना व्यक्तिले ह्वाट्स एपमा गलत म्यासेज पठाउदा बच्चा चोरी गरेको शंकामा मानिसहरुको जमातले एउटा गाडीमाथि हमला गरेका छन्। हमलामा परी गाडीमा सवार एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्नाटकका एक जना इञ्जिनियर रहेको बताइएको छ । एउटा ह्वाट्स एप म्यासेज उनको मृत्युको कारण बनेको छ । जुन म्यासेज कुटपिटभन्दा आधा घण्टा पहिले पठाइएको थियो ।

स्थानीय प्रहरी अधिकारीको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘त्यो म्यासेज मनोज पाटिल नामको एक स्थानीय व्यक्तिले पठाएको थियो । यो घटनामा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । जसमध्ये एक पाटिल पनि हुन् ।’

पाटिलले ह्वाटस एपमा सन्देश पठाएका थिए, ‘रातो कारमा जाँदै गरेका व्यक्ति भाग्न नपाओस् । त्यो बच्चा चोर हो ।’ त्यो सन्देशसँगै बच्चालाई चकलेट बाँडिरहेको भिडियो पनि एट्याच गरिएको थियो । कर्नाटकको बिदर जिल्लाको मुरकी र आसपासको गाउँको ह्वाट्स एप समूहमा त्यो सन्देश पठाइएको थियो ।

प्रहरी अधिकारीका अनुसार म्यासेज पठाउने मनोज पाटिलले विभिन्न ह्वाट्स एप ग्रुप चलाउने गरेका छन् । अहिलेसम्मको अनुसन्धानले कारमा गइरहेका ४ जनामाथि हमला हुनुको कारण त्यही ह्वाट्स एप म्यासेज भएको खुलेको छ ।

‘ह्वाट्स एपमा म्सेज भाइरल भएपछि मानिसहरुले कारलाई पछ्याउन थालेका थिए । र, त्यसमा रहेका ४ जनालाई हमला गरेका थिए । जसमा रहेका एक जनाले ज्यान नै गुमाए’, प्रहरी भन्छ, ‘मारिने ३२ वर्षीय मोहम्मद आजम हैदरावादको मलकपेट बस्ने व्यक्ति हुन् । र, उनी गुगुलको एक प्रोजेक्टमा काम गरिरहेका थिए ।’

Loading...