फ्रान्सका प्रशिक्षक डेसच्याम्प खेलाडी र प्रशिक्षक दुबै रुपमा बने विश्व च्याम्पियन

काठमाडाैं । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पकाे चर्चा अहिले निकै चुलिएकाे छ । फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधी जित्दा फ्रान्सका तर्फबाट कप्तान रहेका डेसच्याम्प यस पटक उपाधि उचाल्दा प्रशिक्षक रहे । त्यसले उनकाे याे सफलतालार्इ एेतिहासिक सफलता मानिएकाे छ । उनी खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व विजेता बन्न सफल भएकाे भन्दै अहिले विश्वभरका मिडियामा चर्चा पाएका छन् ।

४९ वर्षीय डेसच्याम्पले सन् १९८९ देखि २००० सम्म राष्ट्रिय टोलीका लागि खेलेका थिए। त्यसबीचमा यी डिफेन्सिभ मिडफिल्डरले एक सय तीन खेल खेल्दै चार गोल गरेका थिए। डेसच्याम्प सन् २०१२ यता फ्रान्सको प्रशिक्षक छन्। त्यसअघि डेसच्याम्प युभेन्ट्स,मोनाको र मार्सेलीको पनि प्रशिक्षक थिए।

डेसच्याम्प प्रशिक्षक र खेलाडी दुवै रुपमा विश्वकप जित्ने इतिहासका केवल तेस्रा व्यक्ती हुन्। यसअघि ब्राजिलका मारियो जागाल्लो र तत्कालिन पश्चिम जर्मनीका फ्राँ बेकेनबरले खेलाडी र प्रशिक्षक दुवैरुपमा विश्वकप फुटबल उपाधि जितेका थिए। ब्राजिलले सन् १९५८ र १९६२ मा विश्वकप जित्दा जागाल्लो खेलाडी थिए भने सन् १९७० मा जित्दा प्रशिक्षक। बेकेनबर पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप जित्दा खेलाडी थिए भने सन् १९९० मा जित्दा प्रशिक्षक।

Loading...